आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

हिमपातले अवरुद्ध भएको कोरला सडकको हिउँ पन्छाउन थालियो

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, माघ १७ २०८२
हिमपातले अवरुद्ध भएको कोरला सडकको हिउँ पन्छाउन थालियो

करिडोर सडकको उपकरणसहित सशस्त्र प्रहरी टोलीले कोरला नाका सडकको हिउँ पन्छाउन जुटेको छ।

मुस्ताङ- भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध बनेको माथिल्लो मुस्ताङ जोड्ने (कागबेनी-कोरला) सडकको बाक्लो हिउँ पन्छाउन सुरु भएको छ। शुक्रबारदेखि कोरला नाका जोड्ने सडकको हिउँ पन्छाउन सुरु गरिएको हो।

अवरुद्ध नेपाल-चीन जोड्ने कोरला सडकअन्तर्गत आज बिहानदेखि हिउँ पन्छाएर लोमान्थाङसम्मको सडक सञ्चालनमा ल्याइएको छ। जिल्ला प्रशासन कार्यालयसहित लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको संयुक्त पहलमा कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाको उपकरण प्रयोग गरी मुस्ताङको छुसाङदेखि लोमान्थाङसम्म सडकको हिउँ सफा गरिएको हो।

लोमान्थाङदेखि कोरला नाकासम्मको २५ किलोमिटर सडकको हिउँ पन्छाउने काम भइरहेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) का सशस्त्र प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए। उनका अनुसार करिडोर सडकको उपकरणसहित सशस्त्र प्रहरी टोलीले कोरला नाका सडकको हिउँ पन्छाउन जुटेको छ।

यसअघि मंगलबार राति माथिल्लो मुस्ताङमा भारी हिमपात हुँदा कागबेनी-कोरला सडकमा दुई फिटभन्दा बढी हिउँ जमेको थियो। सोही कारण जोमसोम-कोरला सडक पूर्ण रूपमा अवरुद्ध हुन पुगेको थियो। भारी हिमपातका कारण माथिल्लो मुस्ताङको कोरला सडक अवरुद्ध हुँदा स्थानीय नागरिक, सुरक्षाकर्मी, पर्यटक, व्यापारीहरू र निर्वाचनका लागि मतदान केन्द्र तथा मतदानस्थलको अनुगमन कार्य खटिएकाहरूलाई कठिनाइ भइरहेको छ।

शुक्रबार कोरला सडक आयोजनाको सडक खन्ने उपकरणले मुस्ताङको छुसाङदेखि माथि कोरला नाकासम्मको सडकमा जमेको हिउँ पन्छाउने काम भइरहेको आयोजनाले जनाएको। यसैगरी कोरला सडक आयोजनाको सम्पूर्ण खर्च व्यवस्थापन गर्नेगरी लोमान्थाङ गाउँपालिकाको सडक खन्ने उपकरण डोजरले लोमान्थाङबाट तल सडकमा जमेको हिउँ पन्छाइएको थियो।

हिमपातले अवरुद्ध कोरला सडकलाई जतिसक्दो छिटोछरितो रूपमा सञ्चालनमा ल्याउने गरी आयोजनाले दुई वटा डोजर एकैसाथ तल र माथि परिचालित गरी लोमान्थाङसम्मको सडक सञ्चालनमा ल्याइसकेको र लोमान्थाङदेखि कोरला नाकासम्म सडकको हिउँ पन्छाउन सुरु गरिएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए।

सडक अवरुद्ध हुँदा माथिल्लो मुस्ताङको जनजीवन प्रभावित बनेकोमा शनिबारदेखि माथिल्लो क्षेत्रको जनजिवन सामान्यीकरण बन्दै गएको आयोजना प्रमुख शर्माको भनाइ छ। अवरुद्ध सडक सञ्चालनमा आइसकेकाले माथिल्लो मुस्ताङमा खाद्यान्न ढुवानी गर्न सहज भएको आयोजना प्रमुख शर्माले बताए।

हिमपातले अवरुद्ध माथिल्लो मुस्ताङस्थित लोमान्थाङ सडकसम्मको सडक सञ्चालनमा आइसकेको छ। लोमान्थाङदेखि कोरला नाकासम्मको २५ किलोमिटर दूरीमा रहेको सडकको हिउँ पन्छाउने काम शनिबारदेखि सुरु गरिएको आयोजनाले जनाएको छ।

त्यहाँ पनि आयोजनाले डोजर परिचालित गरी एक दुई दिनभित्र सडक सञ्चालनमा ल्याउने गरी काम गरेको आयोजना प्रमुख शर्माले बताए। यसअघि स्थानीय प्रशासन र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहलमा हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक सञ्चालनमा ल्याइएको थियो। रासस


प्रकाशित : शनिबार, माघ १७ २०८२१७:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend