काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र उपेक्षित हुँदा आर्थिक पुनरुत्थान चुनौतीपूर्ण बन्दै गएको बताएका छन्।
अर्थतन्त्रमा करिब ८१ प्रतिशत योगदान र ८६ प्रतिशत रोजगारी सिर्जना गरिरहेको निजी क्षेत्र उपेक्षित हुँदा मुलुकको समग्र आर्थिक पुनरुत्थान चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ।
आज महासंघले काठमाडौंमा आयोजना गरेको 'घोषणापत्रमा निजी क्षेत्र' विषयक पत्रकार सम्मेलनमा अध्यक्ष ढकालले राजनीतिक दलहरूले निजी क्षेत्रको महत्त्वलाई आम नागरिकका बीचमा सुसूचित गराउने गरी घोषणापत्र तयार गर्नुपर्नेमा जोड दिए।
'... अर्थतन्त्रमा करिब ८१ प्रतिशत योगदान र ८६ प्रतिशत रोजगारी सिर्जना गरिरहेको निजी क्षेत्र उपेक्षित हुँदा मुलुकको समग्र आर्थिक पुनरुत्थान चुनौतीपूर्ण बन्दै गएको छ,' अध्यक्ष ढकालले भने,'यही संवेदनशीलतालाई मनन गरी राजनीतिक दलहरूले देशको रोजगारदाता, सेवा प्रदायक, पूर्वाधार निर्माणकर्ता, राजस्व योगदानकर्ता एवं सम्पत्ति निर्माणकर्ता उद्यमी व्यवसायीको मनोबल उच्च राखी लगानी बढाउन निर्वाध पेसा व्यवसाय गर्न पाउने र सम्पत्तिको हकसम्बन्धी नैसर्गिक अधिकारको सम्मान हुने तथा राजनीतिक दलहरूले निजी क्षेत्रको महत्त्वलाई आम नागरिकका बीचमा सुसूचित गराउने गरी घोषणापत्र तयार पारी लागू गर्नु आवश्यक छ।'
अध्यक्ष ढकालले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रले झण्डै ८० अर्ब रुपैयाँबराबरको नोक्सानी बेहोर्नुपरेको भन्दै अझै पनि सुरक्षाको ग्यारेन्टी नरहेको बताए।
'शान्ति र स्थायित्वमार्फत समृद्धिका लागि अझै धेरै चुनौती छन्। ढलेका निजी क्षेत्रका संरचना पुर्ननिर्माण भए पनि फेरि जल्दैनन् भन्ने कुनै ग्यारेन्टी छैन,' उनले भने, 'निजी क्षेत्रको मनोबल आधुनिक समयको सबैभन्दा न्यून अवस्थामा छ।'
उनले अहिले पनि पुँजी पलायनको जोखिम कायमै रहेको तथा बैंकहरूमा लगानीका लागि पर्याप्त रकम भए पनि निजी क्षेत्र ऋण लिएर उद्यम गर्न तयार नरहेको भन्दै सरकार र राजनीतिक दलहरूले निजी क्षेत्रको मनोबल उकास्ने गरी काम गर्नुपर्नेमा जोड दिए। अन्यथा रोजगारी र राजस्व थप संकुचन भई मुलुक असफलतातर्फ उन्मुख हुने उनको भनाइ छ।