काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सदस्य राष्ट्रहरू वार्षिक योगदान र संरचनात्मक कोष जम्मा गर्ने विषयमा पछाडि परेका कारण विश्व निकाय वित्तीय संकटको बाटोतर्फ गइरहेको चेतावनी दिएका छन्।
परिस्थितिगत गम्भीरताको विवरणसहित संयुक्त राष्ट्रका सबै सदस्य राष्ट्रहरूलाई सम्बोधन गर्दै गुटेरेसले वित्तीय नियमहरूमा सुधार गर्न वा संगठनको वित्तीय पतनको वास्तविकताको सामना गर्न आग्रह गरेका छन्। अलजजिराका अनुसार उनले सम्बन्धित देशहरूलाई आफ्नो बक्यौता तिर्न पनि आह्वान गरेका छन्।
संस्थाको वित्तीय कमजोरीलाई उजागर गर्दै प्रवक्ता फरहान हकले विगतका वर्षहरूमा गरेजस्तै काम गर्न नगद भण्डार र तरलता नभएको पत्रकारहरूलाई बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहुपक्षीय निकायका लागि वाशिङ्टनको आर्थिक सहयोग कटौती गर्न कदम चालेको समयमा यो अपिल आएको हो। ट्रम्प प्रशासनले संयुक्त राष्ट्रका धेरै एजेन्सीहरूबाट फिर्ता हुने घोषणा गरेको छ भने ट्रम्पले 'बोर्ड अफ पिस' को पहललाई पनि बढावा दिएको जनाइएको छ।
विद्यमान प्रणालीअन्तर्गत संयुक्त राष्ट्रसंघको सदस्यता शुल्क घरेलु उत्पादन, ऋणस्तर र आर्थिक क्षमताजस्ता कारकहरूका आधारमा गणना गरिन्छ जसमा संयुक्त राज्य अमेरिकाले मुख्य बजेटको २२ प्रतिशत तथा चीनले २० प्रतिशत योगदान गर्दछ।
यसैबीच गुटेरेसले सन् २०२५ को अन्त्यमा १ अर्ब ५७ करोड अमेरिकी डलर भुक्तानी बाँकी रहेको बताएका छन्। सुधारको आवश्यकतालाई जोड दिँदै उनले सबै सदस्य राष्ट्रहरूले पूर्ण र समयमै भुक्तानी गर्ने आफ्नो दायित्व पूरा गर्नुपर्ने वा सदस्य राष्ट्रहरूले आसन्न वित्तीय पतन रोक्नका लागि विद्यमान नियमहरूलाई सुधार गर्नुपर्ने बताएका छन्।
आर्थिक दबाब बढ्दै जाँदा पनि संयुक्त राष्ट्रसंघले यस महिनाको सुरुमा सन् २०२६ का लागि ३ अर्ब ४५ करोड डलरको बजेट स्वीकृत गरेको छ जुन गत वर्षको तुलनामा ७ प्रतिशतले कम हो।
सम्बोधनपत्रमा गुटेरेसले आगामी जुलाईसम्ममा संयुक्त राष्ट्रसंघको नगद भण्डारण समाप्त हुन सक्ने चेतावनी दिएका छन्।
संगठनको वेबसाइटमा प्रकाशित तथ्यांकले बिहीबारसम्म संयुक्त राष्ट्रका १ सय ९३ सदस्य देशहरूमध्ये ३६ वटा ले मात्र आफ्नो योगदान पूर्ण रूपमा भुक्तान गरेको देखाएको छ। रासस