देवदह- आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२/०८३ को छ महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ।
आन्तरिक राजस्व विभागबाट साउनदेखि पुस महिनासम्ममा ६ अर्ब ६३ करोड ७० लाख ५१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको यस कार्यालयले ८ अर्ब १७ करोड १९ लाख ९७ हजार रुपैयाँ संकलन गरेको छ।
कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिभन्दा यस वर्ष ४७ दशमलव ४ प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको छ। चालु आर्थिक वर्षको पुससम्म लक्ष्यभन्दा १ अर्ब ५३ करोड रुपैयाँ बढी अर्थात् लक्ष्यभन्दा २३ दशमलव १ प्रतिशत बढी राजस्व संकलन भएको हो। गत आर्थिक वर्षको तुलनामा यो २ अर्ब ६३ करोड रुपैयाँले बढी हो।
चालु आर्थिक वर्षको पुस महिनामा १ अर्ब २६ करोड ८७ लाख १३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको कार्यालयले १ अर्ब ६६ करोड ८७ लाख ९१ हजार रुपैयाँ अर्थात् लक्ष्यको ३१ दशमलव ५ प्रतिशत बढी संकलन गरेको छ। आन्तरिक राजस्व विभागले आन्तरिक राजस्व कार्यालय भैरहवालाई चालु आर्थिक वर्ष २०८२/०८३ मा १५ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको छ।
आन्तरिक राजस्व कार्यालयको सक्रियताका कारण कर संकलनमा उल्लेख्य वृद्धि भएको यहाँ कार्यरत कर्मचारीको दाबी छ। अर्थतन्त्रका परिसूचकमा देखिएको सुधार र स्थानीयस्तरमा बक्यौता असुलीका लागि कार्यालयको पहलले लक्ष्यभन्दा बढी कर संकलन भएको कार्यालयले जनाएको छ।
करदाताको घर ठेगाना, कारोबारस्थलमा पत्राचार गर्ने, एसएमएस र टेलिफोनबाट सूचित गर्ने, स्थानीय तहसँग समन्वय गरेर सूचना टाँस गर्ने, नियमित, क्षेत्रगत र प्रभावकारी रूपमा बजार अनुगमन, आर्थिक गतिविधिमा पनि केही वृद्धि भएका कारण राजस्व संकलन बढेको प्रमुख कर अधिकृत पोख्रेलको भनाइ छ।
यस अवधिमा बजेटले दिएका छुट सुविधा कार्यान्यवन, करदाता शिक्षालाई बढी प्रभावकारी, नक्कली बिजक जारी गर्ने करदातालाई कारबाही गरिएको उनले बताए। कर छलीलाई न्यूनीकरण गर्ने प्रयास गरिएको उनको भनाइ छ।
आन्तरिक राजस्व कार्यालय भैरहवाले करदाताबाट बाँकी बक्यौता असुली गर्दै राजस्व संकलन बढाउने उद्देश्यले विशेष अभियान सञ्चालन गरेको थियो। कार्यालयले २०८२ कात्तिकदेखि पुससम्म सञ्चालन गरेको यो अभियानबाट १२ करोड ६२ लाख रुपैयाँ बक्यौता राजस्व संकलन भएको छ। आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क नबुझाएका करदातासम्म प्रत्यक्ष पुगेर राजस्व दाखिलाका लागि अभियान सञ्चालन गरिएको थियो।
कर अधिकृत गौरव पाण्डेका अनुसार पुस महिनासम्म मूल्य अभिवृद्धि कर विवरण, कर र लाग्ने २५ प्रतिशत ब्याज बुझाउने करदातालाई अन्य जरिवाना तथा थप दस्तुर (कर र ब्याजको २५ प्रतिशत) पूर्ण रूपमा मिनाहा गरिएको थियो।
त्यस्तै अन्तःशुल्कमा लाग्ने विलम्ब शुल्कको ५० प्रतिशत बुझाएमा बाँकी विलम्ब शुल्क र जरिवाना पनि मिनाहा हुने व्यवस्था गरिएको थियो। सो अवधिमा २१३ जनाले छुट सुविधा लिएको प्रमुख कर अधिकृत पोख्रेलले बताए। मूल्य अभिवृद्धि कर विवरण नबुझाउने ९ प्रतिशत अर्थात् ४ सय १९ जना करदाता हटाइएको हटाइएको उनले जानकारी दिए।
आन्तरिक राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्रमा १ लाख १० हजारभन्दा बढी व्यावसायिक करदाता छन्। यो कार्यालयको कार्यक्षेत्रमा हरून्देहीको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकाको वडा नम्बर ५ देखि १७ सम्म, देवदह नगरपालिकाको वडा नम्बर १ देखि ४ तथा ११ र १२, लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा, कोटहीमाई, मर्चवारी, मायादेवी, ओमसतिया, रोहिणी, सम्मरीमाई, सियारी तथा शुद्धोदन गाउँपालिकाको वडा नम्बर ३ र नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) जिल्ला पर्छ। रासस