पर्सा- वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ११ अर्ब ५७ करोड रुपैयाँको १६ थरीका खाद्य पदार्थ आयात भएको छ। गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सो अवधिमा भने यो नाका हुँदै हुने खाद्य पदार्थको आयातमा २१ करोड रुपैयाँको गिरावट आएको छ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही समयमा खाद्य पदार्थको आयातमा सामान्य गिरावट आएको बताए।
गत आर्थिक वर्षको ६ महिनामा भने ११ अर्ब ७८ करोड रुपैयाँको १६ थरीका खाद्य पदार्थ आयात भएको थियो। चालु आर्थिक वर्षको ६ महिनामा ५ अर्ब ६८ करोड रुपैयाँको १५ करोड ४३ लाख किलोग्राम धान आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने ६ अर्ब ९ करोड रुपैयाँको धान आयात भएको थियो।
चालु आर्थिक वर्षको ६ महिनामा ३ अर्ब ४१ करोड रुपैयाँको मकै आयात भएको छ। त्यस्तै चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ६१ करोड रुपैयाँको चामल र ३३ करोड रुपैयाँको माल्ट आयात भएको छ। त्यस्तै २३ करोड ७३ लाख रुपैयाँको फापर, कोदो र अन्य खाद्यान्न आयात भएको छ। रासस