काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा नेपालका वाणिज्य बैंकहरूको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानीमा सामान्य सुधार देखिएको छ।
दोस्रो त्रैमाससम्म सार्वजनिक भएका अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले पुस मसान्तसम्म कुल ९६ अर्ब ५ करोड १७ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन्।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.७२ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा बैंकहरूले ९२ अर्ब ६० करोड ७३ लाख ६९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए।
कुल २० बैंकमध्ये १४ वटा बैंकको खुद ब्याज आम्दानी बढेको छ भने बाँकी ६ वटा बैंकको आम्दानीमा गिरावट आएको छ।
रकमका आधारमा नबिल बैंकले सबैभन्दा धेरै खुद ब्याज आम्दानी गरेको छ। बैंकले यस अवधिमा ८ अर्ब ८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २.४२ प्रतिशतले बढी हो। त्यसैगरी, ग्लोबल आइएमई बैंकले ८ अर्ब २ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। तर यो आम्दानी गत वर्षको तुलनामा ३.३३ प्रतिशतले घटेको हो।
आम्दानी वृद्धिको अनुपातमा भने राष्ट्रिय वाणिज्य बैंक र कुमारी बैंक अग्रस्थानमा देखिएका छन्। राष्ट्रिय वाणिज्य बैंकको खुद ब्याज आम्दानी ३८.४९ प्रतिशतले वृद्धि भई ६ अर्ब १० करोड रुपैयाँ पुगेको छ। निजी क्षेत्रको कुमारी बैंकले पनि २७.६५ प्रतिशतको उल्लेख्य वृद्धि गर्दै ६ अर्ब ७८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
यस अवधिमा केही बैंकहरूको खुद ब्याज आम्दानीमा भने संकुचन देखिएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा १२.८३ प्रतिशतले घटेर ६ अर्ब ४२ करोड रुपैयाँमा सीमित भएको छ। त्यस्तै, हिमालयन बैंकको खुद ब्याज आम्दानी पनि करिब १० प्रतिशतले घट्दै ४ अर्ब ७० करोड रुपैयाँमा झरेको छ।
अन्य बैंकहरूमध्ये एभरेष्ट बैंक, कृषि विकास बैंक, नेपाल बैंक, एनआईसी एसिया बैंक र सिद्धार्थ बैंकको खुद ब्याज आम्दानी ४ अर्ब रुपैयाँ आसपास रहेको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद ब्याज आम्दानी भने सबैभन्दा कम १ अर्ब ९७ करोड रुपैयाँमा सीमित देखिएको छ।
यसैगरी, लक्ष्मी सनराइज बैंकले ५ अर्ब २४ करोड, प्रभु बैंकले ४ अर्ब ९८ करोड, एनएमबि बैंकले ४ अर्ब ७७ करोड र प्राइम कमर्सियल बैंकले ४ अर्ब ६५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन्।