काठमाडौं- चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नेपालका फाइनान्स कम्पनीहरूको वित्तीय अवस्थामा सुधार आएको छ।
गत वर्षको सोही अवधिमा समग्रमा ऋणात्मक रहेका यी कम्पनीहरू यस वर्ष नाफा कमाउन सफल भएका हुन्।
यस वर्षको ६ महिनामा ती कम्पनीहरूले ३२ करोड ७७ लाख रुपैयाँ कुल नाफा कमाएका छन्। गत आर्थिक वर्षको पुस मसान्तसम्म १५ वटा फाइनान्स कम्पनीहरू समग्रमा ७३ करोड २ लाख रुपैयाँ नोक्सानीमा थिए।
गत वर्ष १५ मध्ये ६ वटा कम्पनी घाटामा रहेकामा यस वर्ष नोक्सानीमा रहेका कम्पनीको संख्या ३ वटा मा सीमित भएको छ।
सबैभन्दा बढी नाफा कमाउनेको सूचीमा मञ्जुश्री फाइनान्स पहिलो स्थानमा छ। यो कम्पनीले १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। त्यसैगरी, ११ करोड १७ लाख रुपैयाँ नाफाका साथ गुडविल फाइनान्स दोस्रो स्थानमा छ। अन्य कम्पनीहरूमा गोर्खाज फाइनान्स ६ करोड १६ लाख, सेन्ट्रल फाइनान्स ३ करोड ९१ लाख, र आइसीएफसी फाइनान्स ३ करोड २० लाख रहेका छन्।
सुधार र गिरावटको अवस्था यस अवधिमा १० वटा वित्त कम्पनीको खुद मुनाफामा १४ देखि २४ सय ७२ प्रतिशतसम्मको लोभलाग्दो वृद्धि देखिएको छ। नाफा वृद्धिदरको हिसाबले गोर्खाज फाइनान्स सबैभन्दा अगाडि देखिएको छ। जुन गत वर्षको घाटाबाट रहेर अहिले ६ करोडभन्दा बढी नाफामा गएको छ।
त्यसैगरि नेपाल फाइनान्स, जानकी फाइनान्स र प्रोगे्रसिभ फाइनान्स भने अझै नोक्सानीमै रहेका छन्। नेपाल फाइनान्सको अवस्थामा सबैभन्दा धेरै गिरावट देखिएको छस गत वर्ष नाफामा रहेको यो कम्पनी यस वर्ष ८ करोड ७३ लाख ४९ हजार रुपैयाँ खुद नोक्सानीमा पुगेको छ। त्यस्तै मल्टिपर्पोज, रिलायन्स र समृद्धि फाइनान्सको नाफा १ करोडभन्दा कम रहेको छ।