काठमाडाैं- चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएसँगै बैंकिङ क्षेत्रमा लगानीकर्ताहरूको ध्यान लाभांश क्षमतामा केन्द्रित भएको छ।
सार्वजनिक वित्तीय विवरणका आधारमा नै बैंकका सेयर लगानीकर्ताले पाउने लाभांश अनुमान गर्न सकिन्छ। अपरिष्कृत विवरणअनुसार ६ महिनाको अवधिसम्म १९ मध्ये ८ वटा वाणिज्य बैंक यो चालु आर्थिक वर्षको लाभांश दिन नसक्ने अवस्थामा पुगेको अनुमान गर्न सकिन्छ।
गत आर्थिक वर्ष २०८१/८२ मा पनि ६ वटा वाणिज्य बैंकहरूले आफ्ना सेयरधनीहरूको हात खाली बनाएका थिए भने मुनाफा भए पनि ४ वटा बैंक लाभांश वितरण गर्न सक्ने अवस्थामा थिएनन्।
विशेष गरी विगत केही वर्षदेखि लाभांश वितरणमा ब्रेक लागेका बैंकहरूको संख्या बढ्दै जाँदा समग्र बैंकिङ क्षेत्रको स्वास्थ्य र लगानीकर्ताको मनोबलमा नकारात्मक असर पुगेको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा, कुमारी, प्रभु, हिमालयन, नेपाल बैंक र एनआईसी एसिया बैंकले पछिल्लो ३ वर्षदेखि लाभांश वितरण गर्न सकेका छैनन्। यो आर्थिक वर्ष २०८२/८३ को ६ महिनासम्मको विवरणले यो संख्या झन् बढ्ने संकेत गरेको छ।
नयाँ रिपोर्टअनुसार नेपाल बैंक, कुमारी, लक्ष्मी सनराइज, एनआईसी एसिया, सिटिजन्स्, हिमालयन बैंक, प्रभु र नेपाल इन्भेस्टमेन्ट बैंकले यो पटक पनि लाभांश दिन नसक्ने अवस्था देखिएको छ।
केही बैंकहरूले भने निकै उत्साहजनक क्षमता देखाएका छन्। औसतमा सूचीकृत १९ वाणिज्य बैंकले दिन सक्ने लाभांश क्षमता ९ प्रतिशत रहेको छ। ७ वटा बैंकले यो पटक दोहोरो अंकको लाभांश दिने क्षमता बनाएका छन्। जुन कर्जा असुलीमा बैंकहरू सफल भएसँगै सम्भव भएको हो।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा धेरै ३६.४ प्रतिशत र एभरेष्ट बैंकले ३१.९३ प्रतिशत लाभांश दिने क्षमता बनाएका छन्। त्यसैगरी नबिल बैंकको २२.५ प्रतिशत र सिद्धार्थ बैंकको २०.१३ प्रतिशत लाभांश क्षमता देखिएको छ।
अन्य बैंकहरूको अवस्था हेर्दा सानिमा बैंकको १६.९५ प्रतिशत, नेपाल एसबीआई बैंकको १६.०६ प्रतिशत र ग्लोबल आइएमई बैंकको १२.२४ प्रतिशत क्षमता रहेको छ। थोरै क्षमता भएका बैंकहरूमा माछापुच्छ्रेको ७.२२ प्रतिशत, एनएमबीको ५.१८ प्रतिशत, कृषि विकास बैंकको ५.०३ प्रतिशत र प्राइम बैंकको ३.०६ प्रतिशत मात्र लाभांश क्षमता कायम भएको छ।
यसरी हेर्दा बैंकिङ क्षेत्रमा ठूला र पुराना बैंकहरूले आफ्नो साख जोगाउँदै गर्दा केही बैंकहरू भने खराब कर्जा र नियामक प्रावधानका कारण सेयरधनीलाई लाभ दिन संघर्ष गरिरहेका देखिन्छन्। लगानीकर्ताहरूका लागि यो त्रैमासिक रिपोर्टले कुन बैंकमा लगानी सुरक्षित छ र कुन जोखिमपूर्ण छ भन्ने संकेत दिएको छ।