आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक खुल्यो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ १६ २०८२
हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक खुल्यो

प्रहरी कार्यालयले बिहानको समयमा तत्कालका लागि मुक्तिनाथ आवतजावत गर्न सवारीसाधनलाई समस्या हुने भएकाले बिहान ११ बजेपछि मात्रै सवारीसाधन लैजान अनुरोध गरेको छ।

मुस्ताङ- भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक आज बिहानदेखि सञ्चालन भएको छ। जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहलमा अवरुद्ध सडक सञ्चालनमा ल्याइएको हो।

मङ्गलबार राति भारी हिमपातका कारण मुक्तिनाथ जाने १२ किलोमिटर कालोपत्र सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको थियो। बिहीबार दिउँसोदेखि जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अनुरोधमा मुक्तिनाथ स-जोमसोम-कोरला) सडक आयोजनाको स्काभेटर परिचालन गरिएको छ।

यसका अतिरिक्त मुक्तिनाथ सडकको हिउँ पन्छ्याएर सडक सञ्चालन गराउन प्रमुख जिल्ला अधिकारी अजिता शर्मासहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी लगायतको संयुक्त सुरक्षा टोली परिचालित गरिएको थियो।

यसैगरी अवरुद्ध सडक खुलाउन गाउँपालिका उपाध्यक्ष डिकी गुरुङ र वडाध्यक्ष कर्माघ्याचो गुरुङ लगायतका स्थानीय जनप्रतिनिधि परिचालित भएका थिए।

भारी हिमपातका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन जिल्ला सुरक्षा समितिको टोलीसहित स्थानीय जनप्रतिनिधि खटिएको र कोरला सडक आयोजनाको डोजर लगेर अवरुद्ध सडकको हिउँ पन्छ्याएर सडक खुलाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए।

उनका अनुसार अवरुद्ध सडक खुलाइएको भए पनि कतिपय घाम नलाग्ने ओसिलो स्थानमा हिउँ ढुंगा जस्तै सारो हुने गरी जमेकाले दुई पांग्रे र भारी सवारीसाधनलाई मुक्तिनाथ उक्लिन समस्या रहेको छ।

जिल्ला प्रहरी कार्यालयले बिहानको समयमा तत्कालका लागि मुक्तिनाथ आवतजावत गर्न सवारीसाधनलाई समस्या हुने भएकाले बिहान ११ बजेपछि मात्रै सवारीसाधन लैजान अनुरोध गरेको छ।

भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध मुक्तिनाथ सडक सञ्चालनमा आएसँगै मुस्ताङको कागबेनीमा रोकिएका सवारीसाधन गन्तव्यमा प्रस्थान गरेका छन्। पुनः हिमपात नभएमा केही दिनमा मुक्तिनाथ सडक थप सहज हुने वारागुङ मुक्तिक्षेत्र-४ का वडाध्यक्ष कर्माघ्याचो गुरुङले जानकारी दिए। रासस


प्रकाशित : शुक्रबार, माघ १६ २०८२१४:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend