काठमाडौं- नेपालमा आगामी फागुन २१ गते हुने तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि भारत सरकारले सहयोगस्वरूप थप सवारी साधन उपलब्ध गराएको छ।
आज बिहीबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहबीच भारतीय दूतावास काठमाडौंका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले अर्थमन्त्री रामेश्वर खनाललाई थप २ सय ५० वटाभन्दा बढी सवारी साधन हस्तान्तरण गरेका हुन्।
भारत सरकारले निर्वाचनसम्बन्धी सहयोगको दोस्रो चरणमा नेपाललाई ती सवारी साधन हस्तान्तरण गरेको हो। योसहित भारतले नेपालको निर्वाचन प्रयोजनका लागि ३ सय १० वटाभन्दा बढी सवारी साधन हस्तान्तरण गरिसकेको छ।
यसअघि भारतले पहिलो चरणमा यही माघ ६ गते ६० वटाभन्दा बढी सवारी साधन हस्तान्तरण गरेको थियो। ती सवारी साधन नेपाल सरकारले आगामी निर्वाचनको तयारीका लागि माग गरेको सहयोगअन्तर्गतका हुन्।
आगामी निर्वाचनका लागि भारतले करिब ६ सय ५० सवारी साधन सहयोगस्वरूप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। ती सवारी साधनहरू केही हप्ताभित्रै चरणबद्ध रूपमा नेपाललाई हस्तान्तरण गरिने जनाइएको छ।
कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले भारत र नेपालबीचको लामो समयदेखिको सहयोग र मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै ती सवारी साधनका लागि भारत सरकार र त्यहाँका जनतालाई धन्यवाद दिए।
नेपाल सरकारको अनुरोधअनुसार भारत सरकारले सन् २००८ देखि नेपाललाई निर्वाचनसम्बन्धी सहयोग प्रदान गर्दै आएको छ।