शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नबिल बैंकको वित्तीय सूचकहरूमा थप सुधार

बिहीबार , माघ १५ २०८२
नबिल बैंकको वित्तीय सूचकहरूमा थप सुधार

काठमाडौं- नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरणअनुसार बैंकले पुस मसान्तसम्म ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७१ प्रतिशतले बढी हो। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्म बैंकको खुद नाफा ३ अर्ब २४ करोड रुपैयाँ रहेको थियो।

गत जेठमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा मनोज ज्ञवाली नियुक्त भएपछि बैंकको सञ्चालन, जोखिम व्यवस्थापन र वित्तीय अनुशासनमा सुधारका प्रयास तीव्र बनेका छन्।

४१औँ वार्षिक साधारणसभाबाट संस्थापक सेयरधनीतर्फ सञ्चालकमा अनिलकेशरी शाह निर्विरोध निर्वाचित भएसँगै सञ्चालक निर्वाण चौधरी बैंकको अध्यक्षमा चयन भएका छन्। नयाँ अध्यक्ष र व्यवस्थापन टोलीको संयोजनपछि बैंकका प्रमुख वित्तीय सूचकहरू थप सुधारोन्मुख देखिएका छन्। 

नाफा वृद्धिको प्रमुख कारण खुद ब्याज आम्दानीमा सामान्य वृद्धि र कर्जा नोक्सानी व्यवस्थाअन्तर्गतको इम्पेरमेन्ट चार्ज रिभर्स हुनु हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.४२ प्रतिशतले बढेर ८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिसन आम्दानी ६.६१ प्रतिशतले बढेर १ अर्ब ६१ करोड रुपैयाँ नाघेको छ।

कुल सञ्चालन आम्दानी ५.५८ प्रतिशतले वृद्धि भइ १० अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा ४ करोड ८८ लाख रुपैयाँ बराबरको इम्पेरमेन्ट चार्ज रिभर्स हुँदा सञ्चालन मुनाफा २६.९५ प्रतिशतले बढेर ६ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ।

नाफासँगै बैंकको वितरणयोग्य मुनाफा पनि उल्लेख्य रूपमा बढेको छ। पुस मसान्तसम्म वितरणयोग्य मुनाफा ३ अर्ब २७ करोड ३० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७३ प्रतिशतले बढी हो। वितरणयोग्य प्रतिसेयर आम्दानी २२ रुपैयाँ ५० पैसा पुगेको छ।

पुँजी संरचनातर्फ बैंकले ५ अर्ब रुपैयाँबराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गरी चुक्ता पुँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुर्‍याएको छ। जगेडा कोषमा ३६ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ।

पुस मसान्तसम्म बैंकले ५ खर्ब ६६ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। कर्जा-निक्षेप अनुपात ७८.१२ प्रतिशतमा झरेको छ भने निष्क्रिय कर्जा अनुपात ४.२५ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्षको ४.९३ प्रतिशतभन्दा कम हो।

प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ४ पैसा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ११ रुपैयाँ ६ पैसाले बढी हो। यस अवधिमा बैंकको मूल्य-आम्दानी अनुपात १३.९१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ६४ पैसा पुगेको छ। जोखिमभारित सम्पत्तिमा पुँजी कोष अनुपात १२.७७ प्रतिशत पुगेको छ, जसले बैंकको पुँजीगत अवस्था पनि सुदृढ बन्दै गएको संकेत गर्छ।

साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ। विगतका वर्षहरूमा पनि नबिल बैंकले नगद र बोनस सेयरमार्फत नियमित रूपमा आकर्षक प्रतिफल दिँदै आएको छ।

नयाँ नेतृत्व आएपछि वित्तीय प्रदर्शन, नाफाको गुणस्तर र जोखिम व्यवस्थापनमा देखिएको सुधारले आगामी दिनमा बैंकको स्थायित्व र सेयरधनी प्रतिफल थप सुदृढ हुने अपेक्षा गरिएको छ।

नबिल बैंकको दश वर्षको लाभांश 

नबिल बैंक लिमिटेडले विगतका दस वर्षमा नियमित रूपमा नगद तथा बोनस लाभांश वितरण गर्दै आएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको नाफा र वित्तीय सूचकहरूमा देखिएको उल्लेख्य सुधारले आगामी दिनमा सेयरधनीका लागि प्रतिफल अझ बढ्ने अपेक्षा गरिएको छ।

आर्थिक वर्ष

नगद लाभांश

बोनस सेयर

०८१/८२

१२.५०%

०%

०८०/८१

१०.००%

०%

०७९/८०

११.००%

०%

०७८/७९

११.५०%

१८.५०%

०७७/७८

४.४०%

३३.६०%

०७६/७७

१.७६%

३३.५०%

०७५/७६

२२.००%

१२.००%

०७४/७५

२२.००%

१२.००%

०७३/७४

१८.००%

०%

०७२/७३

१५.००%

३०.००%


प्रकाशित : बिहीबार , माघ १५ २०८२१३:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend