शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कुमारी बैंकको नाफा १० गुणाले वृद्धि, अधिकांश सूचकमा सुधार

बिहीबार , माघ १५ २०८२
कुमारी बैंकको नाफा १० गुणाले वृद्धि, अधिकांश सूचकमा सुधार

काठमाडौं- पछिल्ला तीन आर्थिक वर्षदेखि दबाबमा रहेको कुमारी बैंकको वित्तीय अवस्था हाल सुधारोन्मुख देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म बैंकले २ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

यो गत वर्षको सोही अवधिसँग तुलना गर्दा करिब ८८६ प्रतिशत, अर्थात् लगभग १० गुणा बढी हो। गत वर्षको सोही अवधिमा बैंकले मात्र २७ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकको नाफा वृद्धिमा मुख्य कारण कर्जा नोक्सानी व्यवस्थामा कमी, खुद ब्याज आम्दानी र फी तथा कमिसन आम्दानीमा उल्लेख्य वृद्धि रहेको विश्लेषकहरूले बताएका छन्।

कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको रकम ३ अर्ब २७ करोड ३१ लाख रुपैयाँबाट घटेर १ अर्ब ५० करोड ७५ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ३१ करोड ४० लाख रुपैयाँबाट बढेर ६ अर्ब ७८ करोड ३५ लाख रुपैयाँ पुगेको छ भने फी तथा कमिसन आम्दानी १ अर्ब ६० करोड ९२ लाख रुपैयाँ कायम भएको छ।

बैंकको कुल सञ्चालन आम्दानी ९ अर्ब २१ करोड २९ लाख रुपैयाँ पुगेको छ। सञ्चालन मुनाफा ५०५.११ प्रतिशत वृद्धि भई ४ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ पुगेको छ।

प्रतिसेयर आम्दानी दोस्रो त्रैमाससम्म २०.७४ रुपैयाँ पुगेको छ, गत वर्षको २.१० रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि देखिन्छ। पुस मसान्तसम्म बैंकको नेटवर्थ १५१.१६ रुपैयाँ छ भने मूल्य-आम्दानी अनुपात ८.६३ गुणा कायम छ।

वितरणायोग्य नाफा ८६ करोड २३ लाख रुपैयाँ छ भने नियामकीय जगेडा कोषमा ७८ करोड १९ लाख रुपैयाँ जम्मा गरिएको छ। सञ्चित नोक्सानी गत असार मसान्तमा ३ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ रहेकोमा पुस मसान्तसम्म २ अर्ब ९८ करोड ७२ लाख रुपैयाँमा सीमित भएको छ।

चुक्ता पुँजी २६ अर्ब २२ करोड ५९ लाख रहेको बैंकको जगेडा कोष १६ अर्ब ४० करोड ५३ लाख रुपैयाँ पुगेको छ। निक्षेप ३ खर्ब ७१ अर्ब ३८ करोड रुपैयाँ र कर्जा २ खर्ब ६५ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। निष्क्रिय कर्जा ६.९२ प्रतिशत कायम छ। प्राथमिक पुँजीकोष अनुपात ८.९३ प्रतिशतमा पुगेको छ भने आधार दर ५.६० प्रतिशत कायम छ।

विश्लेषकहरूले बताएअनुसार कर्जा नोक्सानी व्यवस्थामा सुधार, ब्याज र फी/कमिसन आम्दानीमा वृद्धि र सञ्चालन खर्चको व्यवस्थापनले बैंकको नाफा उल्लेख्य रूपमा बढाएको हो, जसले आगामी आर्थिक वर्षमा बैंकको वित्तीय स्थिति अझ बलियो हुने संकेत दिएको छ।


प्रकाशित : बिहीबार , माघ १५ २०८२१०:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend