काठमाडौं- एनआईसी एसिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको वित्तीय अवस्था केही सूचकमा सुधारतर्फ देखिए पनि खुद नाफा भने अघिल्लो वर्षको तुलनामा घटेको छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले १३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.५४ प्रतिशत कम हो। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले १५ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
बैंकको खुद ब्याज आम्दानीमा उल्लेख्य गिरावट आउनु र इम्पेरमेन्ट चार्ज बढ्नु नै खुद नाफा घट्नुको प्रमुख कारण बनेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.८७ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ११.०७ प्रतिशतले बढेको छ। यद्यपि, खुद ब्याज आम्दानीको गिरावटले आम्दानी संरचनामा दबाब सिर्जना गरेको देखिन्छ।
यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ११.०७ प्रतिशत र सञ्चालन मुनाफा ४२.१६ प्रतिशतले घटेको छ। साथै, बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ३५ करोड रुपैयाँबाट बढेर २ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ, जसको प्रत्यक्ष असर सञ्चालन मुनाफा र खुद नाफामा परेको छ।
नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २८ पैसा घटेर १ रुपैयाँ ७६ पैसामा सीमित भएको छ। पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब ३९ करोड रुपैयाँ ऋणात्मक रहेको छ।
यस अवधिमा बैंकको मूल्य-आम्दानी अनुपात १८८.४४ गुणा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ३३ पैसा कायम भएको छ।
हाल १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको एनआईसी एसिया बैंकको जगेडा कोषमा १४ अर्ब ६६ करोड ८६ लाख रुपैयाँ सञ्चित छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले ३ खर्ब २७ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।