शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

लक्ष्मी सनराइज बैंकको नाफा ऋणात्मक, अधिकांश वित्तीय सूचकमा देखिएन सुधार

बिहीबार , माघ १५ २०८२
लक्ष्मी सनराइज बैंकको नाफा ऋणात्मक, अधिकांश वित्तीय सूचकमा देखिएन सुधार

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २७ करोड ३६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १६ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। एक वर्षको अवधिमा बैंकको वित्तीय अवस्थामा उल्लेख्य गिरावट आएको देखिन्छ।

काठमाडौं- लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार समीक्षा अवधिसम्ममा बैंकको खुद नाफा ऋणात्मक रहेको छ भने अधिकांश वित्तीय सूचकहरूमा अपेक्षित सुधार देखिएको छैन।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २७ करोड ३६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १६ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। एक वर्षको अवधिमा बैंकको वित्तीय अवस्थामा उल्लेख्य गिरावट आएको देखिन्छ।

बैंकको खुद ब्याज आम्दानी सामान्य रूपमा बढे पनि इम्पेरमेन्ट चार्ज उल्लेख्य रूपमा बढेका कारण खुद नाफा ऋणात्मक हुन पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.१४ प्रतिशत तथा खुद फि तथा कमिशन आम्दानी १८.१५ प्रतिशतले वृद्धि भएको छ। यद्यपि, यी सुधारले उच्च इम्पेरमेन्ट चार्जको असर न्यूनीकरण गर्न सकेनन्।

समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ९.४४ प्रतिशतले बढेको छ। तर, बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ७९ करोड ३० लाख रुपैयाँबाट बढेर ४ अर्ब ४७ करोड ३० लाख रुपैयाँ पुगेपछि बैंकको सञ्चालन मुनाफा १५ करोड ९८ लाख रुपैयाँ ऋणात्मक भएको छ। यसको प्रत्यक्ष असर खुद नाफामा परेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि ऋणात्मक बनेको छ। पुस मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ४ पैसा ऋणात्मक रहेको छ। यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ८४ करोड २७ लाख रुपैयाँ ऋणात्मक भएको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ६ रुपैयाँ २९ पैसा ऋणात्मक रहेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ २३ पैसा कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १७२ रुपैयाँ ५० पैसा थियो। बैंकको पूँजी पर्याप्तता अनुपात  ९.४७ प्रतिशतमा सीमित भएको छ।

बैंकको निष्क्रिय कर्जा अनुपात ५.५० प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको ५.६७ प्रतिशतको तुलनामा केही घटेको देखिन्छ। यद्यपि, कर्जा-निक्षेप अनुपात ७७.४४ प्रतिशतमा झरेको छ। यस अवधिमा बैंकको आधार दर ५.४७ प्रतिशत र ब्याजदर अन्तर ३.५४ प्रतिशत कायम भएको छ।

हाल २६ अर्ब ७८ करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले ३ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ८७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।


प्रकाशित : बिहीबार , माघ १५ २०८२०६:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend