शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

हिउँदे वर्षाले किसान उत्साहित

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ १४ २०८२
हिउँदे वर्षाले किसान उत्साहित

काठमाडौं- लामो खडेरीपछि हिउँदे वर्षा भएसँगै किसानहरू उत्साहित भएका छन्। मुलुकका अधिकांश क्षेत्रमा गएको रातिदेखि छिटपुट तथा मध्यम वर्षा भएपछि लगाएको बालीनाली सप्रने र नयाँ बालीका लागि मलिलो हुने भएकाले किसानहरू हर्षित भएका हुन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनचापीय प्रणालीका कारण पश्चिमबाट प्रवेश गरेको मनसुनका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको अघिकांश स्थानमा वर्षा भएको छ। उक्त मनसुनी प्रणाली सक्रिय भएपछि हिमाली क्षेत्रमा हिमपात भएको छ।

पछिल्लो २४ घण्टामा सुर्खेतको खानीखोला जलमापन केन्द्रमा सबैभन्दा बढी ४३ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ। कर्णाली र लुम्बिनी प्रदेशमा अधिकांश स्थान र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा मध्यम वर्षा भएको छ।

त्यस्तै गण्डकी प्रदेशको तल्लो क्षेत्रमा हल्का मात्रै वर्षा भएको भने सो प्रणालीले अहिले बागमती प्रदेशको काठमाडौं उपत्यका आसपासमा वर्षा गराइरहेको छ। यो प्रणाली कमजोर हुँदै उत्तरपूर्वतर्फ सर्दै गइरहेको विभागले जनाएको छ। कोशी प्रदेशमा सामान्य प्रभाव पर्ने र उत्तरी भेकमा हल्का हिमपात हुने अनुमान छ।

कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइराला देशका विभिन्न स्थानमा परेको वर्षा हिउँदे बालीका लागि ‘अमृत’ सरह हुने बताउँछन्। असिनाबिनाको पानीले अहिले खेती गरिएको तोरीको दाना पुष्टि हुने र गहुँ उत्पादन बढ्ने उनको भनाइ छ।

यससँगै हिउँदे वर्षापछि फलफूल तथा बोटबिरुवामा नयाँ पालुवा पलाउने र त्यसले आगामी वर्ष उत्पादन वृद्धि गराउन योगदान पुर्‍याउने उपमहानिर्देशक कोइरालाले जानकारी दिए। वर्षासँगै हिमाली क्षेत्रमा भएको हिमपातले स्याउलगायतका खाद्य तथा नगदेबालीको उत्पादन बढ्नेछ। रासस


प्रकाशित : बुधबार, माघ १४ २०८२१८:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend