म्याग्दी- म्याग्दीको धवलागिरी गाउँपालिका-१ गुर्जा र अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीमा बुधबार हिमपात भएको छ। हिमपातका कारण जनजीवन कष्टकर बनेको छ।
धवलागिरि गाउँपालिका-१ गुर्जाका वडा सदस्य गुनराम छन्त्यालले बिहानैदेखि निरन्तर हिमपात भइरहेको जानकारी दिए। राति पानी परेको र करिब २ इञ्च बाक्लो हिउँ जमेको उनले बताए।
समुद्री सतहदेखि २ हजार ७ सय मिटर उचाइमा रहेको गुर्जा जोड्ने पदमार्ग र सडक हिउँ परेपछि अवरुद्ध भएको छ। सर्वसाधारणहरू घरभित्रै आगो तापेर बसेका छन्। गाईवस्तु र भेडाबाख्रालाई गोठमै सुख्खा घाँस खुवाएर राखिएको छ।
पर्यटकीय स्थल घोडेपानी, पुनहिल, खोप्रा र मोहरेडाडा पनि हिउँले छोपिएको छ। घोडेपानीका होटल व्यवसायी मिना पुनले हिमपात सुरु भएपछि चहलपहल घटेको बताए। घोडेपानी र पुनहिल घुम्न आउने पर्यटक घटेपछि सुनसान भएको छ।
यो वर्षको दोस्रो हिमपात भएको हो। म्याग्दी जिल्लाभर वर्षा भएको छ। वर्षाका कारण हिउँदेबालीमा फाइदा पुुगेको छ। हिउँ र अकासे पानीले सिँचाइको काम गरेको मालिका गाउँपालिका-७ का कृषक भूपेन्द्र शर्माले बताए।
सुख्खा भएको जमिन भिजेर बिरुवाले आवश्यक तत्त्व पाउने र खेतीबाली सप्रिने उनले बताए। गहुँ, जौ, केराउ, सुन्तलाजात फलफूलका लागि वर्षाले सहयोग गरेको छ। रासस