काठमाडाैं- होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेपपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको हो।
कम्पनीले जारी कुल पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये यसअघि कम्पनीले ४ लाख कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि २ लाख कित्ता सेयर सामूहिक लगानी कोषहरु र ८० हजार कित्ता सेयर कर्मचारीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि बाँकी रहेको प्रतिसेयर १०० रुपैयाँ दरका ३३ लाख २० हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो। सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। सो आईपीओको निष्कासन बन्द छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गते हुनेछ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखिन्छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।
आईपीओमा सर्वसाधारण लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित ‘मेरो सेयर’ अनलाइनबाट आवेदन दिन सक्नेछन्।