तनहुँ- मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका-१३ स्थित बेलबासका पशुपालक किसानले दिएका छन्। बेलबास दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध भएका ६१ मध्ये ४५ किसानले व्यावसायिक रूपमा पशुपालन गरेर समाजमा नमुना कार्य गर्दै आएका हुन्।
अहिलेको सुक्खायाममा दूध उत्पादन घट्नुपर्नेम वृद्धि हुँदै गइरहेको संस्थाका व्यवस्थापक श्रीप्रसाद साँखीले जानकारी दिए। उनले भने, 'यहाँ थोरैमा मासिक १५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँभन्दा बढीसम्म कमाउने दूध व्यवसायी छन्।'
यसअघि दैनिक १ हजार ६ सय लिटर दूध बिक्री हुँदै आएकोमा अहिले १ हजार ७ सय लिटर दूध संकलन भइरहेको छ। दूधबाट राम्रै आम्दानी हुने देखेपछि किसानले उत्साहित भएर गाई थप्दै जाँदा बेमौसमी सिजनमा दूधको परिणाम बढेको उनले बताए। उत्पादित दूध बेलबास दुग्ध उत्पादक सहकारी संस्थामार्फत दमौली र पोखराको सुजल डेरी प्रालिमा बिक्री गर्ने गरिएको छ। उत्पादन गरिएको दूध बिक्रीका लागि बजारको कुनै समस्या नभएपछि यहाँका किसान पशुपालनतर्फ आकर्षति भएर लागेका हुन्।
दमौली बजारमा सञ्चालनमा ल्याइएको दुईवटा पसलबाट दैनिक ७ सय लिटर दूध खपत हुने गरेको छ भने एक दिन बिराएर सुजल डेरीले २ हजार लिटर दूध पोखरा लैजाने गरेको छ। यहाँको व्यावसायिक पशुपालनले परिवारको मात्रै नभई सिंगो समाजको मुहारमा परिवर्तन ल्याएको संस्थाका सचिव मेघनाथ आचार्यले बताए।
उनले भने, 'आफूले दूध उत्पादन गर्नुका साथै पशुपालन गर्न चाहने किसानका लागि थप उत्प्रेरण जगाउने कार्य गरिएको आभास गर्न थालिएको छ।' यस क्षेत्रका पशुपालन कृषकले अन्य व्यक्तिका लागि परिश्रम गर्न सकिए केही हुँदो रहेछ भन्ने गतिलो सन्देश दिएका छन्। दूध बिक्रीबाट आएको पैसाले लेनदेन व्यवहारका साथै दैनिक घरखर्च चलाउन सजिलो भएको पशुपालक किसान बताउँछन्।
कृषकको खरिद मूल्यअनुरूप अहिले दैनिक १ लाख ३४ हजार रुपैयाँ मूल्यको दूध संकलन हुने गरेको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट प्रतिलिटर ३ रुपैयाँ र व्यास नगरपालिकाबाट २ रुपैयाँ अनुदान सहकारीमार्फत पाउने गरेका छन्। व्यावसायिक पशुपालक कृषकलाई राज्यले प्रोत्साहन गर्न दाना, चोकरको महँगी नियन्त्रण र उत्पादनका आधारमा अनुदानलाई प्राथमिकता दिन सके अझै प्रभावकारी हुन सक्ने संस्थाका अध्यक्ष केशवबहादुर थापाले बताए।
गाउँमै दुग्ध संकलन केन्द्र रहेकाले कृषकले दैनिक बिहान र बेलुका उत्पादन गरेका दूध बिक्री गर्न सहज भएको छ। नगरपालिकाले कृषकलाई प्रोत्साहन गर्न उत्पादनका आधारमा अनुदान प्रदान गर्दै आएको वडाध्यक्ष वसन्तबहादुर आलेले बताए। रासस