आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

नवप्रवर्तन कार्यक्रमका लागि गण्डकीका आठ स्थानीय तह छनोट

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ १३ २०८२
नवप्रवर्तन कार्यक्रमका लागि गण्डकीका आठ स्थानीय तह छनोट

प्रदेश तथा स्थानीय शासन सबलीकरण परियोजनाअन्तर्गत सञ्चालित यस कार्यक्रमबाट प्रदेश तथा स्थानीय तहलाई सक्षम र उत्तरदायी बनाउन सहयोग पुर्‍याउने लक्ष्य छ।

गण्डकी- गण्डकी प्रदेशमा नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि छ स्थानीय तह छनोट भएका छन्।

नवलपुरको देवचुली नगरपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका, गोरखाको सहिद लखन गाउँपालिका, गोरखा नगरपालिका, तनहुँको म्याग्दे र ऋषिङ गाउँपालिका, लमजुङको बेँसीसहर नगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिका छनोटमा परेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

उक्त कार्यक्रमका लागि विभिन्न स्थानीय तहबाट २९ वटा प्रस्ताव पेस भएकामा प्रदेश छनोट तथा सिफारिस समितिले मूल्यांकन गरी आठवटा परियोजना प्रस्ताव स्वीकृत भएको कार्यालयकी उपसचिव पार्वती लामिछानेले जानकारी दिइन्।

नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि संघीय ससर्ततर्फको ४ करोड १० लाख बजेट विनियोजन भएको उनले बताइन्। 'नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालन कार्यविधिअनुसार स्थानीय तहले अनुदान प्राप्त गर्छन्, बढीमा ३० प्रतिशत स्थानीय तहको साझेदारी रहन्छ' उपसचिव लामिछानेले भनिन्।

नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत देवचुली नगरपालिकामा कृषक पाठशाला परियोजना, पुतलीबजार नगरपालिकामा मुस्लिम समुदाय लक्षित उद्यम विकास तथा व्यवसाय प्रवर्द्धन परियोजना र सहिद लखन गाउँपालिकामा मनकामना फोहरमैला व्यवस्थापन परियोजना सञ्चालन हुने भएको छ।

यसैगरी, म्याग्दे गाउँपालिकामा बालबालिकाको शैक्षिक विकास, घरपझोङ गाउँपालिकामा फोहर संकलन तथा व्यवस्थापन केन्द्र, बेँसीसहर नगरपालिकामा मौरीजन्य उत्पादन प्रवर्द्धन, ऋषिङ गाउँपालिकामा मौरी उद्योग र गोरखा नगरपालिकामा मटका घरबास ‘होमस्टे’ परियोजना अगाडि बढाइने भएको हो।

प्रदेश तथा स्थानीय शासन सबलीकरण परियोजनाअन्तर्गत सञ्चालित यस कार्यक्रमबाट प्रदेश तथा स्थानीय तहलाई सक्षम र उत्तरदायी बनाउन सहयोग पुर्‍याउने लक्ष्य छ। यस वर्ष प्रदेशका १५ वटा स्थानीय तह छनोट भइ परियोजना कार्यान्वयनको चरणमा छ। रासस


प्रकाशित : मंगलबार, माघ १३ २०८२१६:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend