ललितपुर- स्वास्थ्य तथा जनसंख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बीमालाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीन वटै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिएकी छिन्।
प्रदेश अस्पताल पर्वतको निरीक्षण गर्दै मन्त्री गौतमले संघीय सरकारको मात्र बजेटले स्वास्थ्य बीमा कार्यक्रमलाई अपुग भएकाले प्रदेश सरकार र स्थानीय तहहरूले समेत बजेट विनियोजन गर्नुपर्ने बताएकी छिन्।
अहिले पनि थुुप्रै अस्पतालले स्वास्थ्य बीमाको बजेट नपाएको गुनासो आइरहेको बताउँदै सरकारसँग बजेट अभाव भएकै कारण भुक्तानी दिन नसकिएको बताइन्।
अर्थ मन्त्रालयमा माग गर्दा बजेट नभएको भनेपछि स्वास्थ्य मन्त्रालयकै बजेटबाट झन्डै १ अर्ब रुपैयाँ बीमा बोर्डलाई भुक्तानी भएको उनको भनाइ छ। मन्त्री गौतमले आफूले विभिन्न प्रदेशअन्तर्गतका बैठकमा प्रदेश सरकार र स्थानीय तहका जनप्रतिनिधिलाई आगामी बजेटमा स्वास्थ्य बीमाका लागि पनि रकम विनियोजन गर्न आग्रह गरेको बताइन्। मन्त्री गौतमले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउनका लागि अहिलेको सरकारले निरन्तर पहल गरिरहेको बताइन्।
सरकारी स्वास्थ्य संस्थाहरूमा पर्याप्त औषधि,जनशक्ति र उपकरणको व्यवस्थापन हुनुपर्नेमा जोड दिँदै मन्त्री गौतमले नागरिकलाई आधारभूत स्वास्थ्य सुविधाका पुर्याउनका लागि विभिन्न नीति र योजना बनाउनुनपर्ने बताइन्। उनले निर्वाचन आचारसंहिता लागिसेककाले कतिपय कामहरू अघि बढाउन नसकिएको पनि बताइन्।
उनले गत भदौ २३ र २४ गतेको आन्दोलनमा घाइते भएका जेनजीहरूको उपचारका लागि सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताउदै घाइतेको उपचारमा कुनै समस्या नभएको तर अंग प्रत्यारोपण गर्नुपर्नेहरूको व्यवस्थापनमा सरकार लागिरहेको जानकारी दिइन् ।
मन्त्री गौतमले आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिएकी छन्।