शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ १३ २०८२
कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

जानकीमात्र होइन जिल्लाका अधिकांश किसान बधिया भालेपालनमा सक्रिय छन्। बजारमा माग उच्च र पर्याप्त मूल्य पाउने भएका कारण पछिल्लो केही वर्षयता बधिया भाले दाङको प्रमुख पहिचान नै बन्दैछ।

दाङ- घोराही उपमहानरपालिका-१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन हो। उनको दैनिकी भालेको स्याहार र हेरचाहामा बित्ने गर्छ। बधिया भाले बिक्रीबाट राम्रो आम्दानी पनि लिइरहेको उनी बताउँछिन्।

'स्थानीय कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर उसको अण्डकोष निकालेपछि भाले बधिया बन्छ', उनले भनिन्, 'यो सीप सिकेपछि मैले आफैँ यो विधिको सुरुवात गरेर भाले बधिया बनाउने काम सुरु गर्न थालेँ।' बधिया भालेको मासु बढी स्वादिलो हुने भएकाले पनि यसको खोजी व्यापक बन्दै गएको उनी बताउँछिन्।

आठ वर्षदेखि व्यावसायिक रूपमा बधिया भोलेपालन गर्दै आएकी किसान चौधरीले आगामी दिनमा यसलाई बढाउँदै लैजाने योजना बनाएकी छिन्। अहिले पनि ६० बढी फार्ममा भाले रहेको उनी बताउँछिन्। एउटा भालेलाई तीन हजार बढी पर्ने उनको भनाइ छ। बधिया भाले सामान्यतया दुई, साढे दुई किलोको हुने गर्छ।

उनले यो व्यवसायबाट वार्षिक रूपमा चारदेखि छ लाखको कारोबार गर्ने र घरखर्च चलाएर आधा रकम बचत हुँदै आएको बताइन्। उनले साना भाले किनेर पाल्छिन्। यसका लागि लोकल कुखुरा पाल्ने स्थानीय किसानसँग सम्पर्क गर्दै आएकी छिन्। यसरी किनेका भाले चार महिनापछि बधिया बनाउने गर्दै आएकी छिन्।

खुला ठाउँ भएका गाउँघरमा थोरै जमिन भए पनि बधिया भाले पाल्न सहज हुने उनी बताउँछिन्। सजिलो र कम लगानीमा गर्न सकिने भएकाले यो आकर्षक व्यवसाय बनेको छ। दंगाली पोल्टी फार्म दर्ता गरेर व्यवसाय गर्दै आउनुभएका जानकीलाई श्रीमान्को पनि सहयोग मिलेको छ।

'बधिया भालेको व्यावसायिक पालनबाट राम्रो आम्दानी पनि हुँदै आइरहेको छ, त्यसकारण विगत लामो सयमदेखि निरन्तरता दिँदै आइरहेका छौँ' उनले भनिन्, 'सबै काम आफैँले जानेपछि पछिल्लो समय झन् सहज भएको छ, बिक्रीका लागि पनि कुनै समस्या छैन।'

किसान चौधरीले सहज रूपमा बिक्री गर्दै आइरहेकी छिन्। अघिपछिभन्दा चाडपर्वको समयमा बधिया भालेको झन् धेरै माग आउने गरेको उनको भनाइ छ।

'साना चल्ला हुर्काएर, बधिया बनाएर बेच्दा दोब्बर मूल्य पाउन सकिन्छ', उनले भनिन्, 'यो व्यवसाय गरेदेखि आयआर्जनका लागि अन्य काम खोज्नुपरेको छैन।' उनले उत्पादन गरेको बधियो भाले काठमाडौं, पोखरालगायतका ठाउँसम्म पुग्ने गरेको छ।

जानकीमात्र होइन जिल्लाका अधिकांश किसान बधिया भालेपालनमा सक्रिय छन्। बजारमा माग उच्च र पर्याप्त मूल्य पाउने भएका कारण पछिल्लो केही वर्षयता बधिया भाले दाङको प्रमुख पहिचान नै बन्दैछ। रासस


प्रकाशित : मंगलबार, माघ १३ २०८२११:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend