आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

स्थानीय उत्पादन र उद्यमशीलताले समृद्ध प्रदेशको लक्ष्य पूरा हुन्छ : मुख्यमन्त्री आचार्य

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ १२ २०८२
स्थानीय उत्पादन र उद्यमशीलताले समृद्ध प्रदेशको लक्ष्य पूरा हुन्छ : मुख्यमन्त्री आचार्य

मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने मुख्य आधार स्थानीय उत्पादन नै भएको उल्लेख गरे।

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीको बजारीकरण र उद्यमशीलताको विकासबाट समृद्ध प्रदेशको आकांक्षा पूरा गर्न सकिने बताएका छन्।

सैनामैना व्यापार संघको आयोजनामा सुरु भएको सातौँ सैनामैना महोत्सव-२०८२ को आज उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने मुख्य आधार स्थानीय उत्पादन नै भएको उल्लेख गरे।

उनले स्थानीय उत्पादनको बजारीकरण र उद्यमशीलताको प्रवद्र्धनमा सबैको साझा ध्यान जानु आवश्यक रहेको बताए। मेला-महोत्सवमा स्थानीय उत्पादनका सामग्रीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उनले भने, 'मेला-महोत्सव आयोजना गर्दा स्थानीय उत्पादनले प्राथमिकता नपाउने अवस्था बन्नु हुँदैन। मेला-महोत्सवमा स्थानीय उत्पादनले अनिवार्य रूपमा प्राथमिकता पाउनुपर्छ।'

मुख्यमन्त्री आचार्यले प्रदेश सरकार उद्योगी व्यवसायीको पक्षमा सधैँ उभिने स्पष्ट पारे। उनले भने, 'प्रदेश सरकार उद्योगी व्यवसायीको रक्षा कवच बनेर उभिएको छ। व्यवसायीको लगानीको सुरक्षाको ग्यारेन्टीका लागि हामी खटिरहेका छौँ। लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तल्लिन भएर लागेको छ। उद्योगी व्यवसायीले स्वदेशमै लगानी गरेर उत्पादन बढाउन जरुरी छ।'

सो अवसरमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले नवप्रवर्तनको क्षेत्रमा समेत लगानी बढाउन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।  रासस


प्रकाशित : सोमबार, माघ १२ २०८२१८:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend