आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

मापदण्डअनुसार कागजातसहित बीमा भुक्तानी दाबी गर्न स्वास्थ्य संस्थालाई बोर्डको आग्रह

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ १२ २०८२
मापदण्डअनुसार कागजातसहित बीमा भुक्तानी दाबी गर्न स्वास्थ्य संस्थालाई बोर्डको आग्रह

जथाभावी रूपमा मापदण्डविपरीत स्वास्थ्य बीमाबापत भुक्तानी दाबी आएपछि बोर्डले स्वास्थ्य संस्थालाई एक समिति बनाई दाबीको पुनरवलोकन गर्न आग्रह गरेको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए।

काठमाडौं- स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डको मापदण्डबमोजिम कागजातसहित दाबी प्रविष्ट गर्न अनुरोध गरेको छ।

जथाभावी रूपमा मापदण्डविपरीत स्वास्थ्य बीमाबापत भुक्तानी दाबी आएपछि बोर्डले स्वास्थ्य संस्थालाई एक समिति बनाई दाबीको पुनरवलोकन गर्न आग्रह गरेको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए।

'स्वास्थ्य बीमा गरेबापतको दाबीसहित हामीले पठाएको विवरणमा धेरै नै त्रुटि हुने गर्दछन्,' उनले भने, 'स्वास्थ्य संस्थाले गर्ने दाबीबापतको रकमलाई पुनः एकपटक त्यही स्वास्थ्य संस्थामा पुनरवलोकन गर्नका लागि समिति बनाउन आग्रह गरेक हौँ।'

उनले स्वास्थ्य बीमा रियल टाइम दाबी गर्नेसम्बन्धी कार्यविधि-२०८० अनुसार दाबी रुजु तथा मूल्यांकन प्रक्रियालाई थप सहज बनाई सेवा प्रदायक स्वास्थ्य संस्थाका दाबीमा हुने अस्वीकृत दर घटाउनका लागि सम्बन्धित स्वास्थ्य संस्थाले पुनरवलोकन समिति बनाउन आवश्यक रहेको बताए।

बोर्डले स्वास्थ्य संस्थाबाट दाबी प्रविष्ट गर्नुपूर्व समितिले नै दाबीउपर पुनरवलोकन तथा रुजु गरी त्यसपश्चात् मात्र बोर्डको मापदण्डबमोजिम कागजातसहितको दाबी प्रविष्ट गर्न अनुरोध गरेको छ।
बोर्डले तोकिएको मापदण्डअनुसार प्राप्त नभएका स्वास्थ्य बीमा गरेबापतको दाबीको भुक्तानी नगर्ने सूचना अधिकारी मल्लले बताए।

उनका अनुसार स्वास्थ्य बीमा बोर्डमा एक दिनमा १० करोड रुपैयाँबराबरको स्वास्थ्य संस्थाहरूले भुक्तानीका लागि दाबी पेस गर्ने गरेका छन्। अहिलेसम्म करिब १२ अर्ब रुपैयाँ स्वास्थ्य बीमाबापत ती स्वास्थ्य संस्थालाई बोर्डले भुक्तानी गर्न बाँकी छ। रासस


प्रकाशित : सोमबार, माघ १२ २०८२१५:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend