काठमाडौं- साताको दास्रो कारोबार दिन आज नेप्से परिसूचक ३.०७ अंकले घटेर २७६९.०९ बिन्दुमा पुगेर बन्द भएको छ।
आजको कारोबारमा ३ सय ३२ कम्पनीको ३ करोड ६२ लाख ६४ हजार ८ सय ७३ कित्ता सेयर खरिद-बिक्री हुँदा १६ अर्ब ३५ करोड ३७ लाख ३० हजार ४ सय ६६रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ३४ प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव ११ प्रतिशत र फ्लोट इण्डेक्स शून्य दशमलव ३२ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा, एसवाई प्यानल नेपाल, हिम स्टार उर्जा कम्पनी, सान्भि इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो नेपालको सेयर सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। घटेका स्टकहरुको मूल्य गिरावट दर ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनर कम्पनीको ६५ करोड ९३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको ५६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम ५२ करोड रुपैयाँ नाघेको छ।
आज १३ वटै उपसमूहमध्य ४ उपसमूहको परिसूचक बढेको छ। भने ९ वटा घटेको छ ।आजको कारोबारमा सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.६७ प्रतिशत बढेको छ।
गत साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेको थियो। गत साता ७३.१८ अंक बढेर २७१४.६१ विन्दुमा पुगेको थियो।
अपेक्षाअनुरुप सुधार देखिन नसकेको सेयर बजार चुनावअघि उचाइतर्फ लाग्न थालेको छ। आगामी फागुन २१ मा चुनाव भएसँगै राजनीतिक स्थिरता हुने अपेक्षामा लगानीकर्ता रहेका छन्। संगठित लगानीकर्ताहरू पनि बजारले चुनावपछि नयाँ उचाइ भेट्ने बताइरहेका छन्।
सेयर बजार सुधारतर्फ बढ्ने अपेक्षा भइरहँदा अहिलेको वृद्धिले केही आश जगाएको र उतारचढावपूर्ण बजार चुनावपछि उचाइतर्फ बढ्ने अनुमान विश्लेषकहरूले गरेका छन्। अहिलेको वृद्धि निरन्तर रहने र साताभर नै बजारमा हरियाली नै देखिने विश्लेषकहरू बताउँछन्। चुनावपछि बन्ने सरकारमा नयाँ नेतृत्व आउने आँकलनले पनि बजार सकारात्मक हुँदै जाने जनाइएको छ।
अहिले चुनावी सरकारले पनि निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहँदा लगानीकर्ता केही विश्वस्त देखिन्छन्। गएको साउनमा देखिएको उछालपछि बजार धरमर गरिरहँदा बढ्दो ट्रेन्ड छायामा देखिएको थियो।
२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।