आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

‘फेक रेस्क्यू’मा करोडौँ ठगी, जोगिन लिएका थिए राजनीतिक आड

सोमबार, माघ १२ २०८२
‘फेक रेस्क्यू’मा करोडौँ ठगी, जोगिन लिएका थिए राजनीतिक आड

फेक रेस्क्यू केवल बीमा ठगीको विषय नभइ अन्तर्राष्ट्रिय बीमा प्रणाली, पर्यटन क्षेत्रको विश्वसनीयता र राष्ट्रकै छविसँग जोडिएको गम्भीर अपराध हो।

काठमाडौं- नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने र पर्यटकलाई ठगी गर्ने ६ जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फेक रेस्क्यूमा संलग्न विभिन्न ट्राभल कम्पनीका सञ्चालक पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा जयराम रिमाल, विवेक पाण्डे, रवीन्द्र अधिकारी, विवेकराज थपलिया, मुक्ति पाण्डे र सुभाष केसी रहेका छन्। पक्राउ परेका रिमाल र पाण्डे माउन्टेन रेस्क्यू सर्भिसमा, अधिकारी र थपलिया नेपाल चार्टर सर्भिस प्रालिमा र पाण्डे र केसी एभरेष्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्स प्रालिमा आबद्ध रहेका थिए।

फेक रेस्क्यू केवल बीमा ठगीको विषय नभइ अन्तर्राष्ट्रिय बीमा प्रणाली, पर्यटन क्षेत्रको विश्वसनीयता र राष्ट्रकै छविसँग जोडिएको गम्भीर अपराध हो। जसबाट जोगिन आरोपिहरूले राजनीतिक आडसमेत लिएका थिए। 

उच्च हिमाली क्षेत्रमा आउने विदेशी पर्यटकको उद्धारको आवरणमा संगठित रूपमा नक्कली ‘फेक रेस्क्यू’ गरिँदै आएको खुलासासँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा पर्यटन व्यवसायी गोरखाको भीमसेन थापा गाउँपालिका-६ अस्राङका मुक्ति पाण्डेसहित ६ जना पक्राउ परेका हुन्।

पक्राउ परेका मुक्ति पाण्डे रास्वपा गोरखा निर्वाचन क्षेत्र नम्बर १ का प्रचार संयोजकसमेत हुन्। सोही क्षेत्रमा रास्वपाबाट सुदन गुरुङ प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन्। चुनावी अभियान चलिरहेका बेला उम्मेदवारका प्रमुख प्रचार संयोजक नै गम्भीर आर्थिक तथा आपराधिक अभियोगमा पक्राउ परेका छन्। यसअघि एमाले र माओवादीमा समेत सक्रिय पाण्डे केही समययतामात्रै रास्वपामा आवद्ध हुँदै चुनावी कमाण्डर बनेका थिए।

सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) डा. मनोज केसीले पक्राउ परेका सबै व्यक्तिमाथि राष्ट्रहितविरुद्धको कसुर, आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अभियोगमा अनुसन्धान भइरहेको जानकारी दिए।

अनुसन्धानअनुसार माउन्टेन रेस्क्यू सर्भिस प्रालिले उद्धार देखाएका १ हजार २ सय ४८ घटनामध्ये १ सय ७१ वटा रेस्क्यू नक्कली रहेको खुलेको छ। ती घटनाका नाममा उक्त कम्पनीले १० करोड अमेरिकी डलरभन्दा बढी रकम बीमा दाबी गरेको पाइएको सीआईबीले जनाएको छ।

उद्धार नै आवश्यक नपर्ने, सामान्य स्वास्थ्य समस्यालाई गम्भीर देखाउने वा उद्धार नगरिएका व्यक्तिलाई समेत हेलिकप्टर रेस्क्यू गरिएको देखाएर बीमा दाबी गरिएको अनुसन्धानमा देखिएको छ।

नेपाल चार्टर सर्भिस प्रालिले ४ सय ७१ जनाको उद्धार गरेको देखाए पनि त्यसमध्ये ७५ जनाको रेस्क्यू नक्कली रहेको खुलेको छ। ती घटनाका आधारमा ८२ लाख अमेरिकी डलरबराबरको बीमा रकम दाबी गरिएको सीआईबीको भनाइ छ।

यसैगरी एभरेष्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्स प्रालिले गरेको ६ सय १ जनाको उद्धारमध्ये ७१ जनाको रेस्क्यू शंकास्पद रहेको पाइएको छ। उक्त कम्पनीले ती घटनाका आधारमा ११ लाख ५३ हजार अमेरिकी डलरबराबरको बीमा दाबी गरेको देखिएको छ।

साढे दुई महिनाको अनुसन्धान, उजुरी अझै जारी

ब्यूरो प्रमुख केसीले फेक रेस्क्यूको उजुरी अझै आइरहेको बताएका छन्। 'विशेषगरी उच्च हिमाली क्षेत्रमा आउने विदेशी पर्यटकको उद्धार र उपचारको आवरणमा गैरकारोबार भएकाबारे उजुरी र विभिन्न सञ्चारमाध्यममा आएको खबरलाई लिएर अनुसन्धान सुरु गरेका थियौँ', उनले भने,'साढे दुई महिनाको अनुसन्धान गर्दा फेक रेस्क्यूबारे धेरै पाटा खुलेको छन्। थप अनुसन्धान जारी छ।'

एआइजी केसीका अनुसार अनुसन्धान क्रममा फेक रेस्क्यू योजनाबद्ध र संगठित रूपमा भइरहेको, विभिन्न कम्पनीबीच समन्वय रहेको तथा अन्तर्राष्ट्रिय बीमा दाबी प्रणालीलाई दुरुपयोग गरिएको पाइएको छ।

फेक रेस्क्यूसम्बन्धी उजुरी अझै आइरहेकाले अनुसन्धान थप विस्तार गरिने सीआईबीले जनाएको छ। आवश्यक परे थप व्यक्ति र कम्पनी पनि अनुसन्धानको दायरामा आउने सीआईबीको भनाइ छ।

फेक रेस्क्यू काण्ड सार्वजनिक भएपछि नेपालका हिमाली पर्यटन, हेलिकप्टर उद्धार प्रणाली र अन्तर्राष्ट्रिय बीमा कम्पनीसँगको विश्वाससम्बन्धमाथि गम्भीर प्रश्न उठेको छ। पर्यटन व्यवसायमा संलग्न सीमित समूहले आर्थिक लाभका लागि प्रणालीकै दुरुपयोग गर्दा समग्र पर्यटन उद्योग बदनाम हुने जोखिम रहेको छ।

सीआईबीले दोषी देखिने जोकोहीलाई राजनीतिक, आर्थिक वा अन्य प्रभाव नहेरी कानूनी दायरामा ल्याइने स्पष्ट पारेको छ।


प्रकाशित : सोमबार, माघ १२ २०८२१३:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend