पर्सा- वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ४ खर्ब ३८ अर्ब २१ करोड रुपैयाँको वस्तु तथा सामान आयात भएको छ।
गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यो नाका हुँदै हुने आयात १५ दशमलव ३० प्रतिशतले बढेको हो। जबकि गत आर्थिक वर्षको ६ महिनामा भने ३ खर्ब ८० अर्ब ६ करोड रुपैयाँबराबरको वस्तु तथा सामान भित्रिएको थियो।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षको ६ महिनामा यो नाका हुँदै हुने आयातमा उल्लेखनीय वृद्धि भएको बताए।
चालु आर्थिक वर्षको ६ महिनामा ९० अर्ब ६ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ। ३९ अर्ब ३ करोड रुपैयाँको फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन्। चालु आर्थिक वर्षको ६ महिनामा ३० अर्ब १ करोड रुपैयाँको मेसिनरी तथा पार्टपुर्जा आयात भएको छ भने २७ अर्ब ७२ करोड रुपैयाँको भटमासको कच्चा तेल आयात भएको छ।
सोही अवधिमा २४ अर्ब ६१ करोड रुपैयाँको ‘इलेक्ट्रिक मेसिनरी’, उपकरण र तिनका पार्टपुर्जा आयात भएका छन्। त्यस्तै १९ अर्ब ४ करोड रुपैयाँको कपडाआयात भएको छ। रासस