काठमाडौं- देशमा निर्वाचनको माहोल तातिँदै जाँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर बजारले नयाँ ऊर्जा पाएको देखिएको छ।
डिजी हबको व्यवस्थापनमा सञ्चालन भइरहेको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा समस्या आएपछि करिब एक दर्जन ब्रोकर कम्पनीका लगानीकर्ताले कारोबार गर्न नपाउँदा पनि आइतबार ६ महिनायताकै उच्च कारोबार भएको छ। विश्लेषकहरूका अनुसार यो अवस्था बजारको आन्तरिक शक्ति र पूँजी आगमनको संकेत हो।
डिजी हबको टीएमएस प्रयोग गर्ने ११ वटा ब्रोकर कम्पनीका लगानीकर्ता केही दिनदेखि सेयर खरिद-बिक्री गर्न असमर्थ भएका थिए। बजार बढिरहेको अवस्थामा समेत ती ब्रोकरमार्फत कारोबार गर्ने लगानीकर्ताले सेयर खरिद बिक्री गर्न पाएनन।
नेप्सेले नयाँ एपीआई नीति लागू गर्दै निजी क्षेत्रले विकास गरेका टीएमएसलाई समेत मान्यता दिएपछि केही ब्रोकर कम्पनीले डिजी हबको टीएमएस प्रयोगमा ल्याएका थिए। पछिल्लो समय केही ब्रोकरले डिजी हबको प्रणालीसँगै आफ्नै टीएमएस पनि सञ्चालनमा ल्याइसकेका छन्। यसैक्रममा नासा सेक्युरिटिजले ‘नासा एक्स’ नामक आफ्नै टीएमएस सञ्चालनमा ल्याएको छ।
यसैबीच आइतबार नेप्से परिसूचक ५७.५६ अंक बढ्दै २७७२.१७ विन्दुमा बन्द भएको थियो। यो २.१२ प्रतिशतको वृद्धि हो। पछिल्ला दिनहरूमा उतारचढाबको सामना गरिरहेको बजारमा आएको यो सुधारलाई विश्लेषकहरूले अंकको वृद्धिमात्र नभई बजार मनोविज्ञानको पुनरुत्थानका रूपमा व्याख्या गरेका छन्।
प्राविधिक सूचकहरूले पनि बजारको बलियो प्रवृत्ति देखाएका छन्। परिसूचक २४८६.४३ देखि २७२३.९४ को दायराबाट माथि निस्किँदै अघि बढेको छ। मुभिङ एभरेज (एमए २०, एमए ५० र एमए २००) सकारात्मक दिशामा देखिनु मध्यमदेखि दीर्घकालीन सुधारको संकेत मानिएको छ। यद्यपि बोलिन्जर ब्यान्डको माथिल्लो भागमा मूल्य पुग्दा बजार अल्पकालीन रूपमा ओभरबोट अवस्थामा पुगेको देखिन्छ।
डिजी हबको टीएमएस प्रयोग गर्ने ब्रोकरका लगानीकर्ताले कारोबार गर्न नपाउँदा पनि आइतबार कुल १३ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएको छ, जुन पछिल्लो ६ महिनायताकै उच्च कारोबार रकम हो। विश्लेषकहरूका अनुसार यदि सबै ब्रोकर कम्पनीबाट पूर्ण रूपमा कारोबार सम्भव भएको भए कारोबार रकम अझै माथि पुग्ने थियो।
विश्लेषकहरू चुनावी माहोललाई बजारमा पूँजी प्रवेशको प्रमुख कारणका रूपमा हेर्छन्। निर्वाचन नजिकिँदा राजनीतिक दलहरूको खर्च बढ्ने, क्षेत्रगत आर्थिक गतिविधि चलायमान हुने र नगद प्रवाह बढ्ने भएकाले त्यसको प्रभाव सेयर बजारमा देखिन थालेको उनीहरूको भनाइ छ। अनिश्चित राजनीतिक वातावरणमा लगानीकर्ताले सेयर बजारलाई तुलनात्मक रूपमा सुरक्षित विकल्पका रूपमा रोज्दा पूँजी आगमन तीव्र भएको देखिन्छ।
बजार विश्लेषकहरूका अनुसार यदि परिसूचकले २७७०-२७८० को स्तर कायम राख्न सके आगामी दिनमा २८०० माथिको प्रतिरोध तह परीक्षण हुन सक्छ। यद्यपि ओभरबोट संकेतका कारण अल्पकालीन समायोजनको सम्भावना खुला रहेकाले लगानीकर्तालाई सतर्क रणनीति अपनाउन सुझाव दिइएको छ।
हाल नेपाल स्टक हाउस प्रालि, रोडशोक सेक्युरिटिज, अरुण सेक्युरिटिज, ओपल सेक्युरिटिज, स्वर्णलक्ष्मी सेक्युरिटिज, कालिका सेक्युरिटिज, एनएआईएमबी स्टक मार्केट्स, हिमालयन ब्रोकरेज, डाइनामिक सेक्युरिटिज र सेक्युर्ड सेक्युरिटिजले डिजी हबको टीएमएस प्रयोगमा ल्याएका छन्। आइतबार कुनै पनि कम्पनीमा लगानीकर्ताले कारोबार गर्न पाएनन।