आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

नेपालमा उच्च प्रविधियुक्त कृषि पार्क निर्माण गर्न भारत र चीन दुवै सहमत

मंगलबार, माघ १३ २०८२
नेपालमा उच्च प्रविधियुक्त कृषि पार्क निर्माण गर्न भारत र चीन दुवै सहमत

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार भारत सरकारले पार्क निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराउने र त्यसको पूर्वाधार विकास, प्रविधि हस्तान्तरण तथा क्षमता अभिवृद्धिमा सहकार्य गर्नेछ।

काठमाडौं- भारत र चीन दुवै नेपालमा उच्च प्रविधियुक्त कृषि पार्क निर्माणका लागि आ-आफ्नो पहल तीव्र बनाएका छन्।

पछिल्ला दिनमा भएका दुई फरक द्विपक्षीय संयन्त्रका बैठकहरूले नेपालमा कृषि उत्पादन, प्रशोधन र बजारीकरणलाई आधुनिक बनाउने लक्ष्यसहित ठूला परियोजनाको बाटो खोलेको छ।

नेपाल-चीनबीच नेपालमा उच्च प्रविधियुक्त कृषि पार्क निर्माण गर्ने सहमति भएको छ। यही माघ ६ र ७ गते सम्पन्न नेपाल-चीन वाणिज्य सचिवस्तरीय बैठकमा दुई पक्षबीच उक्त सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको हो।

बैठकमा नेपाल-चीन व्यापार सहजीकरण, सीमा नाका, ढुवानी र कृषि सहकार्यका विषयसँगै उच्च प्रविधियुक्त कृषि पार्कलाई पनि प्राथमिकताका साथ अघि बढाउने समझदारी बनेको मन्त्रालयले जनाएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस्तो कृषि औद्योगिक पार्क निर्माण गर्ने सहमति करिब तीन वर्षअघि नै भइसकेको थियो। अहिले आएर उक्त सहमतालाई पुनः ‘अपडेट’ गर्दै परियोजनालाई कार्यान्वयनको दिशामा लैजाने तयारी गरिएको हो।

चीनसँग सहमतिमा बन्ने कृषि पार्कको विस्तृत ढाँचा (फ्रेमवर्क), परियोजना मोडालिटी, लगानीको स्वरूप तथा स्थान भने अझै टुंगो लाग्न बाँकी छ। परियोजना कहाँ निर्माण हुने भन्ने विषयमा समेत प्रारम्भिक छलफलमै रहेको मन्त्रालयले जनाएको छ।

यसबीच भारतसँग भने नेपालले कृषि औद्योगिक पार्क निर्माणको प्रक्रिया केही हदसम्म अगाडि बढाइसकेको छ। गत पुस १३ र १४ गते सम्पन्न ‘संयुक्त कृषि कार्यसमूह’को नवौं बैठकले चितवनमा कृषि औद्योगिक पार्क निर्माण गर्ने सहमति गरेको थियो। उक्त बैठकमा पार्क निर्माणका लागि आवश्यक जग्गा कृषि तथा वन विज्ञान विश्वविद्यालय तथा भरतपुर महानगरपालिकाले उपलब्ध गराउने निर्णय भइसकेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार भारत सरकारले पार्क निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराउने र त्यसको पूर्वाधार विकास, प्रविधि हस्तान्तरण तथा क्षमता अभिवृद्धिमा सहकार्य गर्नेछ। यसका लागि भारतीय पक्षसँग विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न औपचारिक अनुरोध गरिएको मन्त्रालयले जनाएको छ।

भारतीय प्राविधिक टोलीले पार्क निर्माणका लागि प्रस्तावित स्थलको अध्ययन तथा स्थलगत अवलोकन गरेपछि डीपीआर निर्माण प्रक्रिया अघि बढ्नेछ। यद्यपि पार्कका लागि कति क्षेत्रफल जग्गा आवश्यक पर्ने, कुल लगानी कति हुने र निर्माण तथा सञ्चालनको मोडालिटी कस्तो हुने भन्ने विषय डीपीआर तयार भएपछि मात्रै टुंगो लाग्ने मन्त्रालयको भनाइ छ।

चितवनमा निर्माण हुन लागेको कृषि औद्योगिक पार्कको मुख्य उद्देश्य नेपाली किसानद्वारा उत्पादित कृषि वस्तुको प्रशोधन, प्रयोगशाला परीक्षण (ल्याब टेस्टिङ), गुणस्तर मापन तथा मूल्य अभिवृद्धि गर्नु रहेको छ। साथै कृषि उत्पादनलाई बजारसँग जोड्ने, निर्यातयोग्य बनाउने र किसानको आम्दानी वृद्धि गर्ने लक्ष्यसमेत परियोजनाले राखेको छ।

नेपालमा एकैसाथ भारत र चीन दुवैको सहकार्यमा उच्च प्रविधियुक्त कृषि पार्क निर्माणको पहल हुनु कृषि क्षेत्रलाई रणनीतिक प्राथमिकतामा राख्ने संकेतका रूपमा लिइएको छ। यदि यी परियोजना प्रभावकारी रूपमा कार्यान्वयन भए नेपालको परम्परागत कृषि प्रणाली आधुनिक औद्योगिक कृषि मूल्य शृंखलामा रूपान्तरण हुने सम्भावना छ।


प्रकाशित : मंगलबार, माघ १३ २०८२११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend