आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

बेथिति, विसंगति र भ्रष्टाचारलाई आपसी सहकार्य र समन्वयमार्फत अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ ११ २०८२
बेथिति, विसंगति र भ्रष्टाचारलाई आपसी सहकार्य र समन्वयमार्फत अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभित्र रहेका बेथिति, विसंगति र भ्रष्टाचारलाई आपसी सहकार्य र समन्वयमार्फत अन्त्य गर्दै जानुपर्ने धारणा राखेकी छिन्।

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभित्र रहेका बेथिति, विसंगति र भ्रष्टाचारलाई आपसी सहकार्य र समन्वयमार्फत अन्त्य गर्दै जानुपर्ने धारणा राखेकी छिन्।

नेपाल खुल्ला विश्वविद्यालयद्वारा प्रधानमन्त्री एवं कुलपति कार्कीको उपस्थितिमा आज यहाँ आयोजित पहिलो दीक्षान्त समारोहमा उनले उत्कृष्ट उच्च शिक्षामार्फत स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गरी विद्यमान समस्या समाधान गर्दै जानुपर्नेमा जोड दिइन्।

'हाम्रो मुलुक अरूले आएर बनाइदिने होइन, हामीले बनाउने हो। बेथितिबाट भाग्ने होइन। हामीले बेथिति, भ्रष्टाचारलाई हटाउँदै जानुपर्छ,' प्रधानमन्त्री कार्कीले भनिन्, 'दीक्षित विद्यार्थीलाई मुलुक बनाउने अभियानमा सहकार्य गर्न म आग्रह गर्दछु। विश्वविद्यालयले प्रतिभा पलायन हुन नदिने, आजका युवाको बदलिँदो स्थितिलाई सम्बोधन गर्ने र उत्पादित जनशक्तिले स्वदेशमा योगदान दिनसक्ने गरी उत्पादनमुखी शिक्षा दिन सक्नुपर्छ।'

समारोहमा शिक्षाविद् एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले जीवनपर्यन्त सिकाइमा लाग्नु र कठिन अवस्थामा पनि सिकाइलाई निरन्तरता दिन सक्नु खुल्ला विश्वविद्यालयका विद्यार्थीको दायित्व हुने बताए।

कार्यक्रममा सहभागी विभिन्न संकायका उत्तीर्ण विद्यार्थीलाई दीक्षित गरिएको थियो। विज्ञान, स्वास्थ तथा प्रविधि संकाय, सामाजिक शास्त्र तथा शिक्षा संकाय र व्यवस्थापन तथा कानून संकायमा उच्चशिक्षा दिँदै आएको छ।

खुल्ला विश्वविद्यालयकी उपकुलपति डा शिलु मानन्धर बज्रचार्यले व्यस्त जीवनशैली बिताइरहेका व्यक्तिलाई खुल्ला विश्वविद्यालयमार्फत दूरशिक्षाका माध्यमबाट सहज रूपमा उच्चशिक्षा दिँदै आएको बताइन्। रासस


प्रकाशित : आइतबार, माघ ११ २०८२१५:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend