काठमाडौं- गत साता साढे २ प्रतिशतभन्दा बढी बढेको नेप्से परिसूचक यो साता पनि बढ्ने सङ्केत देखिएको छ।
साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक २.१२ प्रतिशत अर्थात् ५७.५५ अंकले बढेर २७७२.१७ बिन्दुमा पुगेर बन्द भएको छ।
आजको कारोबारमा ३ सय ३१ कम्पनीको ३ करोड ९ लाख १५ हजार १ सय ८३ कित्ता सेयर खरिद-बिक्री हुँदा १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार ६ सय ४५ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सेन्सेटिभ इण्डेक्स १ दशमलव ७३ प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स २ दशमलव १० प्रतिशत, फ्लोट इण्डेक्स १ दशमलव ७७ प्रतिशतले बढेको छ।
आजको कारोबारमा सागर डिष्टिलरी लिमिटेड, श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेड,एसवाई प्यानल नेपाल, क्रेष्ट माइक्रो लाइफ्, बन्दीपुर केवलकार, हिम स्टार उर्जा कम्पनी, माबिलुङ इनर्जी, रिलायन्स फाइनान्स, आँखुखोला जलविद्युत कम्पनीको सेयर सर्किट लेबलमा कारोबार भएको छ भने त्रिशुली जलविद्युत को सेयर यस दिन ९.९८ प्रतिशतले बढेको छ। आज एक्सेल डेभलपमेन्ट बैंक सेयर मूल्य ६ प्रतिशतभन्दा धेरै घटेको छ।
कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको ४३ करोड ५९ लाख ३३ हजार रुपैयाँ बराबरको १६ लाख ६८ हजार कित्ता सेयर किनबेच भएको छ ।
आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। आजको कारोबारमा सबैभन्दा धेरै होटल तथा पर्यटन ३.३५,उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.९७ प्रतिशत बढेको छ।
गत साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेको थियो। गत साता सेयर बजार ७३.१८ अंक बढेर २७१४.६१ विन्दुमा पुगेको थियो।
अपेक्षाअनुरुप सुधार देखिन नसकेको सेयर बजार चुनावअघि उचाइतर्फ लाग्न थालेको छ। आगामी फागुन २१ मा चुनाव भएसँगै राजनीतिक स्थिरता हुने अपेक्षामा लगानीकर्ता रहेका छन्। संगठित लगानीकर्ताहरू पनि बजारले चुनावपछि नयाँ उचाइ भेट्ने बताइरहेका छन्।
सेयर बजार सुधारतर्फ बढ्ने अपेक्षा भइरहँदा अहिलेको वृद्धिले केही आश जगाएको र उतारचढावपूर्ण बजार चुनावपछि उचाइतर्फ बढ्ने अनुमान विश्लेषकहरूले गरेका छन्। अहिलेको वृद्धि निरन्तर रहने र साताभर नै बजारमा हरियाली नै देखिने विश्लेषकहरू बताउँछन्।
चुनावपछि बन्ने सरकारमा नयाँ नेतृत्व आउने आँकलनले पनि बजार सकारात्मक हुँदै जाने जनाइएको छ। अहिले चुनावी सरकारले पनि निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहँदा लगानीकर्ता केही विश्वस्त देखिन्छन्।
गएको साउनमा देखिएको उछालपछि बजार धरमर गरिरहँदा बढ्दो ट्रेन्ड छायामा देखिएको थियो। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।