काठमाडौं- सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको प्रथम ६ महिनासम्मको निष्क्रिय कर्जा ४.५५ प्रतिशत रहेको तथा नाफा १ अर्ब ७५ करोड रुपैयाँ भएको जनाएको छ। यो अपरिस्कृत विवरण हो।
बैंकको ६१ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर बैंकले कर्जा प्रवाह गरिरहेको जानकारी दिए।
'हाल पुँजीबजार, निर्माण, सेवा, लगानी प्रवद्र्धन एवं विकास निर्माणका क्षेत्रमा सकारात्मक संकेत देखिएका छन्, यसले अर्थतन्त्रमा आशाको सञ्चार गरेको छ,' उनले भने।
बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले नवीन सोच र संकल्पका बैंकले वित्तीय सेवा प्रवाह गर्दै आएको बताए।
कर्जा प्रवाह बढाउनु चुनौती भएको स्वीकार गर्दै उनले भने, 'बैंकको पुँजीको आधार सुदृढ बनाउन ३ खर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनको तयारीमा रहेको छ। बैंकसँग हाल कर्जा निक्षेपको अनुपातका आधारमा १ खर्ब ७१ अर्ब रुपैयाँ तथा तरलताका आधारमा १ खर्ब ३९ अर्ब रुपैयाँको लगानीयोग्य रकम देखिए तापनि पुँजी पर्याप्ताका आधारमा थप १८ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गर्ने अवस्था छ।'
कार्यक्रममा दिइएको जानकारीअनुसार बैंकले निक्षेपतर्फ ४७ लाख ४३ हजार र कर्जातर्फ दुई लाख २६ हजार भन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैयाँ भएको बैंकले चालु आर्थिक वर्षका ६ महिनामा कुल निक्षेप ५ खर्ब ५३ अर्ब रुपैयाँ संकलन तथा १९ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ। रासस