जुम्ला- जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक वर्षको प्रथम पाँच महिना (साउनदेखि मंसिरसम्म) मा ९ दशमलव ४ प्रतिशत मात्र पुँजीगत बजेट खर्च भएको छ।
प्रदेश लेखा नियन्त्रण इकाइ कार्यालय जुम्लाका लेखा अधिकृत मुनबहादुर रावलका अनुसार समीक्षा अवधिमा चालुतर्फ कुल बजेटको पाँच महिनाको अवधिमा १५ दशमलव १९ प्रतिशत खर्च भएको छ। कुल बजेटको पुँजीगततर्फ ९ दशमलव ४ प्रतिशत मात्र बजेटको खर्च भएको उनले बताए।
चालु आर्थिक वर्ष २०८२/८३ का लागि पुँजीततर्फ १ अर्ब ११ करोड ८७ लाख १३ हजार रुपैयाँको बजेट विनियोजन भएको छ। चालु आर्थिक वर्षको पाँच महिनासम्म पुँजीततर्फ १० करोड ११ लाख १५ रुपैयाँ अर्थात् ९ दशमलव ४ प्रतिशत मात्र विकासे बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रण इकाइ कार्यालय जुम्लाका लेखा अधिकृत मुनबहादुर रावलले जानकारी दिए।
विनियोजित बजेटमध्ये सबैभन्दा बढी पूर्वाधार विकास कार्यालय जुम्लाको कुल बजेटको पुँजीततर्फ ९ करोड ११ लाख ९४३ रुपैयाँ खर्च भएको छ। उक्त कार्यालयको समग्र वित्तीय प्रगति १९ दशमलव ३३ प्रतिशत
भएको प्रदेश लेखा नियन्त्रण इकाइ कार्यालय जुम्लाले जनाएको छ। बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको छ।
गत भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनीका कारण प्रदेश सरकारका संरचना क्षतिग्रस्त भएको, प्रदेश सरकारका निकायले राम्ररी काम गर्न नसकेको र बजेट कार्यान्वयन हुन नसक्दा प्रदेश सरकारको खर्च कम देखिएको कर्णाली प्रदेश सरकारको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ। प्रदेश सरकारको मातहतभित्र १२ वटा कार्यालय छन्। रासस