शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

यसै बढिरहेको थियो चाँदीको मूल्य त्यसमाथि मिसियो भूराजनीति, उचाइ चढ्दै जाँदा करेक्सनको त्रास

आइतबार, माघ ११ २०८२
यसै बढिरहेको थियो चाँदीको मूल्य त्यसमाथि मिसियो भूराजनीति, उचाइ चढ्दै जाँदा करेक्सनको त्रास

जब बजार तीव्र गतिमा अघि बढ्छ र लगानीकर्ताले नाफा बुक गर्न थाल्छन् तब छुट्ने डर(फोमो) कारण पनि धेरै लगानी यसमा भित्रिएको अनुमान भइरहेका छन्।

काठमाडौं- सुनको मूल्यले दिनदिनै ऐतिहासिक बिन्दु छोइरहेको समयमा अर्को मूल्यवान धातु चाँदीको मूल्यमा पनि उछाल आइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिआउन्स एक सय डलर पार गरेपछि यसको उछालले पनि कोशेढुंगा पार गरेको छ। 

विश्वको बजारमा चाँदीले यस्तो चमत्कार देखिएको छ कि जसको कल्पना केही समयअघिसम्म कसैले गरेका थिएनन्। प्रतिआउन्स एक सय डलरको ऐतिहासिक र मनोवैज्ञानिक सीमालाई पार गरेको छ। कुनै समय ‘गरिबको सुन’ भनेर चिनिने चाँदीले अहिले लगानीको प्रतिष्ठित पहिचान बनाउन सफल भएको छ।  

चाँदीको मूल्यको उकालो लाग्ने रफ्तार सुनको भन्दा उच्च छ। त्यसैले यसलाई कतिपयले प्रश्न गरेका छन् कि वास्तविक रुपमा मागमा आधारित मूल्याको उछाल हो कि इतिहासकै ठूलो सट्टेबाजी? 

सन् २०२५ मा चाँदीको मूल्य जसरी बढेको छ, यसले विश्वको वित्तीय बजारको विश्लेषण गर्ने सबैलाई चकित पारिदिएको छ। चाँदीको यो रफ्तारको कल्पना धेरैले गरेका थिएनन्।

विशेषगरी सन् १९८० को दशकको बबल र ब्रष्टको कारणले पनि यो तहको वृद्धिदरको अनुमान धेरैले गरेका थिएनन्। एकै वर्षमा १४७ प्रतिशतको वृद्धि भयो चाँदीमा। अर्थात् एक वर्षमै दोबरको प्रतिफल पाउन सफल भए यसमा लगानी गर्नेहरू। 

सन् २०२६ मा पनि यसको गति रोकिएको छैन अझ त्यही गती कायमै गरेको छ। ४० प्रतिशतको वृद्धिदरसहित १०१ डलर आउन्सको उचाइ पाउन सफल भएको छ। सुनको जस्तो बल्क र सरकारी खरिदकर्ताभन्दा यसमा साना मझौला ग्राहकद्वारा सिर्जना गरिएको माग देखिएको विभिन्न विश्लेषणले देखाएका छन्।

जब बजार तीव्र गतिमा अघि बढ्छ र लगानीकर्ताले नाफा बुक गर्न थाल्छन् तब छुट्ने डर(फोमो) कारण पनि धेरै लगानी यसमा भित्रिएको अनुमान भइरहेका छन्। 

चाँदीको रफ्तार यति धेरै बढेको छ कि सुनचाँदीको अनुपातमा पनि नाटकीय परिवर्तन देखिएको छ। सुनको मूल्य जतिसुकै बढेपनि चाँदीको वृद्धि तीव्र हुँदा अहिले यसको अनुपात ५० मा खुम्चिएको छ। एक आउन्स सुन खरिद गर्न कति आउन्स चाँदी चाहिन्छ भन्ने आधारमा यस्तो अनुपात तय हुन्छ। यस्तो अनुपात १४ वर्षकै न्यून हो। यही अनुपातलाई धेरैले यसमा ठूलो करेक्सन अर्थात् चाँदीको मूल्यमा भयानक ह्रासको त्रास पनि कतिपयले देखाइरहेका छन्। 

चाँदीको यो मूल्य वृद्धिको एउटा बलियो कारण भनेको चाँदीको वास्तविक माग पनि रहेको छ। औद्योगिक धातु पनि भएकाले यसको मागमात्र होइन कतिपय देशले यसलाई रणनीतिक धातुका रुपमा पनि हेरेका छन्। पछिल्लो समय चीनले यसको निर्यातमा कडाइ गर्ने नीति लिइएको थियो। 

बजारमा चाँदीको औद्योगिक माग बढिरहेको तर खनन् तथा उत्खननमात्र होइन प्रशोधनका लागि पनि संरचनागत व्यवस्था पुरानै रहेको छ। बजारको मागअनुसारको पूर्वाधारमा लगानी गरेर त्यसको प्रतिफल आउन समय लाग्ने भएकाले यसको मूल्यवृद्धिमा यो अर्को कारण पनि रहेको छ। 


प्रकाशित : आइतबार, माघ ११ २०८२१०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend