आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, माघ १० २०८२
काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

प्रारम्भिक बाल विकास कक्षाहरूमा बाल केन्द्रित सिकाइको स्तर वृद्धि गर्न महानगरपालिकाले विद्यार्थी संख्याका आधारमा प्रारम्भिक बाल विकास सहजकर्ता व्यवस्थापन गरेका कारण प्रारम्भिक बाल विकास कक्षामा बालबालिकाको आकर्षण बढेको हो।

काठमाडौं- विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको संख्यामा उल्लेख्य वृद्धि भएको छ।

सरस्वती पूजाका दिन काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा एक हजार ११५ जना नयाँ बालबालिकाको अक्षरारम्भ गरेका काठमाडौं महानगरपालिकाको शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीले जानकारी दिए। उनका अनुसार गएको वर्षभन्दा यस वर्ष १४४ जना बढी बालबालिकाले अक्षरारम्भ गरेका छन्।

काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमा सरस्वती पूजाको अवसर पारेर यस वर्ष एक हजार ११५ जना बालबालिकाले अक्षरारम्भ गरेका छन्। यसरी अक्षरारम्भ गर्नेहरूमा ५२५ जना छात्रा र ५९० जना छात्र छन्। यो संख्या गएको वर्षभन्दा १४४ जनाले बढी हो। गएको वर्ष यस दिन ९७१ जना बालबालिकाले अक्षरारम्भ गरेका थिए। महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालय छन्। यीमध्ये कारागारभित्रका विद्यालयमा प्रारम्भिक बाल विकास कक्षा (ईसीडी) छैनन्। बाँकी विद्यालयहरूमा छन्।

अक्षरारम्भ कार्यक्रमअन्तर्गत ज्ञानोदय माध्यमिक विद्यालयमा सहभागी हुँदै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बालमैत्री वातावरणमा उनीहरूको सर्वांगीण विकासको जग बलियो बनाउने कामलाई महानगरपालिकाले प्राथमिकता राखेको उल्लेख गरिन्।

'सामुदायिक विद्यालयहरूबाट प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने नतिजाका लागि नीति, योजना तथा कार्यक्रम तर्जुमा गरिएको, स्रोध, साधन र उपकरणमा लगानी बढाइएको, मानव संशाधन विकासमा जोड दिएका छौँ। यसबाट विद्यालयहरूबाट उत्कृष्ट नतिजा प्राप्त हुनेछ,' उनको भनाइ थियो।

धेरै बालबालिकाले अक्षरारम्भ गरेका विद्यालयमध्ये ज्ञानोदय माध्यमिक विद्यालय वाफलमा ८७ जना, नीलबाराही माध्यमिक विद्यालय, टंकेश्वरमा ५० जना र भानु माध्यमिक विद्यालय, रानीपोखरीमा ४२ जना छन्।

प्रारम्भिक बाल विकास कक्षाहरूमा बाल केन्द्रित सिकाइको स्तर वृद्धि गर्न महानगरपालिकाले विद्यार्थी संख्याका आधारमा प्रारम्भिक बाल विकास सहजकर्ता व्यवस्थापन गरेका कारण प्रारम्भिक बाल विकास कक्षामा बालबालिकाको आकर्षण बढेको हो।

निमित्त प्रमुख ज्ञवालीका अनुसार अक्षरारम्भ गरेका बालबालिका नियमित विद्यालय आउन चाहेमा कक्षा कोठाको प्रबन्ध गरिएको छ। नियमित कक्षाका लागि भर्ना भने वैशाख महिनामा हुनेछ। रासस


प्रकाशित : शनिबार, माघ १० २०८२१५:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend