काठमाडौ- अबुधाबीमा रुस-युक्रेन-अमेरिकाबीच त्रिपक्षीय वार्ता जारी रहेकै बेला रुसले युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा यस वर्षकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको छ। अमेरिकी टेलिभिजन नेटवर्क सीएनएनका अनुसार गएराति रुसले ठूलो संख्यामा मिसाइल र ड्रोन प्रयोग गर्दै किभ, खार्किभ, सुमी, चेर्निहिभलगायत क्षेत्रलाई निशाना बनाएको हो।
शुक्रबार संयुक्त अरब इमिरेट्सको अबुधाबीमा भएको त्रिपक्षीय वार्ताको पहिलो चरण सकिएलगत्तै रुसी आक्रमण सुरु भएको जनाइएको छ। वार्ता शनिबार पनि निरन्तर चल्ने कार्यक्रम छ। सीएनएनका अनुसार रुसले एकै रातमा करिब ३७० वटा ड्रोन र २१ वटा मिसाइल प्रहार गरेको थियो, जसलाई युक्रेनी अधिकारीहरूले सन् २०२६ मा अहिलेसम्मकै सबैभन्दा ठूलो हमला बताएका छन्।
राजधानी किभमा भएको आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। किभका मेयर भिटाली क्लिस्कोका अनुसार रुसी हमलाबाट आवासीय भवनसहित धेरै संरचनामा क्षति पुगेको छ। खसेका ड्रोन र मिसाइलका अवशेषका कारण विभिन्न स्थानमा आगलागी भएको र दर्जनौँ भवन प्रभावित भएको जनाइएको छ।
आक्रमणपछि करिब ६ हजार अपार्टमेन्टमा ताप आपूर्ति अवरुद्ध भएको छ भने केही क्षेत्रको पानी आपूर्ति पनि काटिएको छ। किभमा शनिबार बिहान तापक्रम माइनस १२ डिग्री सेल्सियस मापन गरिएको छ, जसका कारण ताप आपूर्ति नहुँदा सर्वसाधारणको दैनिकी थप कष्टकर बनेको छ।
युक्रेनको दोस्रो ठूलो सहर खार्किभ पनि रुसी आक्रमणको चपेटामा परेको छ। खार्किभका मेयर इहोर तेरेखोभका अनुसार त्यहाँ प्रसूति अस्पताल र विस्थापित नागरिक बसोबास गरिरहेका छात्रावासमा क्षति पुगेको छ। सो सहरमा एक बालकसहित कम्तीमा १९ जना घाइते भएका छन्। सुमी र चेर्निहिभ क्षेत्रहरूमा पनि ड्रोन र मिसाइल खसेको र पूर्वाधारमा क्षति पुगेको विवरण आएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणको मुख्य निशाना युक्रेनको ऊर्जा क्षेत्र रहेको बताएका छन्। कडाकेको जाडोमा ऊर्जा पूर्वाधारमा गरिएको हमला अत्यन्तै संवेदनशील र मानवीय संकट निम्त्याउने खालको भएको उनको भनाइ छ। उनले अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आह्वानसमेत गरेका छन्।
यी आक्रमणहरू अबुधाबीमा युक्रेन, रुस र अमेरिकाबीच सुरु भएको त्रिपक्षीय वार्ताको पहिलो दिन सकिएलगत्तै भएका हुन्। वार्तामा रुसतर्फबाट उच्च सैन्य र गुप्तचर अधिकारीहरू सहभागी छन् भने युक्रेनतर्फबाट कूटनीतिज्ञ र सुरक्षा अधिकारीहरू सहभागी भएका छन्। अमेरिकी पक्षको प्रतिनिधित्व राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कोफ, उनका ज्वाइँ जारेड कुश्नर र ह्वाइट हाउसका सल्लाहकार जोश ग्रुएनबामले गरेका छन्।
वार्ताको केन्द्रबिन्दु पूर्वी युक्रेनको डोनबास क्षेत्र रहेको अनुमान गरिएको छ। खनिज, उर्वर जमिन र महत्त्वपूर्ण नदीहरू रहेको उक्त क्षेत्रमा रुसले युक्रेनले नियन्त्रणमा राखेका भूभाग त्याग्न दबाब दिँदै आएको छ। किभले भने यस्तो मागलाई निरन्तर अस्वीकार गर्दै आएको छ। ट्रम्प प्रशासनले शान्ति सम्झौताका लागि युक्रेनमाथि कूटनीतिक दबाब बढाइरहेको भए पनि त्यसले मस्कोलाई बढी फाइदा पुग्ने हो कि भन्ने चिन्ता युक्रेन र उसका साझेदार देशहरूमा व्यापक देखिन्छ।
पूर्णस्तरको आक्रमण सुरु गरेको करिब चार वर्ष बितिसक्दा पनि रुसले युक्रेनको अन्तर्राष्ट्रिय रूपमा मान्य भूभागको करिब २० प्रतिशत हिस्सा नियन्त्रणमा राखेको छ। यसमा लुहान्स्कको अधिकांश भाग तथा दोनेत्स्क, खेरसोन र जापोरिज्झियाका केही क्षेत्र समावेश छन्। युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास भइरहे पनि मैदानमा भइरहेको आक्रमणले शान्ति वार्ताको भविष्य झन् अनिश्चित बन्दै गएको विश्लेषकहरूले बताएका छन्।