कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सिमसार क्षेत्रमा यस वर्ष जलपक्षीको संख्या बढेको पाइएको छ। हालै गरिएको जलपक्षी गणनामा ८२ प्रजातिका २५ हजार ६६० जलपक्षी भेटिएका छन्। जुन गत वर्षको तुलनामा तीन हजार ५०० बढी रहेका छन्।
सिकारी ताल, रानी ताल, बाबा ताल, सलगौरी ताल, राधापुर सिमसार क्षेत्र, महाकाली नदी, चौधर नदी तटीय क्षेत्र तथा निकुञ्ज बाहिरको पुरैनी ताल, रतनपुर सिमसार क्षेत्र र बन्दा ताललगायत क्षेत्रमा जलपक्षी गणना गरिएको हो।
गत वर्ष करिब २१ हजार आठ हजारको हाराहारीमा जलपक्षी गणना गरिएको थियो। यस वर्षको गणनामा सिकारी ताल र पुरैनी तालमा सबैभन्दा बढी जलपक्षी देखिएका छन्।
नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)का वरिष्ठ चराविज्ञ हिरुलाल डगौराका अनुसार गणनाका क्रममा महाकाली नदीमा ६४५, रानी तालमा २२७, राधापुर सिमसार क्षेत्रमा २१२, रतनपुर फार्मल्यान्डमा ६१८, तारातालमा ४५०, कालिकिचमा ५३, सिकारी तालमा सबैभन्दा बढी २० हजार ९४९, पुरैनी ताल बेलौरीमा एक हजार ५५४, नकैया सिमसारमा ७०, गडविजुला तालमा १३० र बन्दा ताल बेलौरीमा २८१ जलपक्षी देखिएका छन्।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अगुवाइमा राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा, जेडएसएल शुक्लाफाँटा नेपाल, नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन), मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, हिमाली प्रकृति, आरडब्लु, नेचर गाइड एसोेसिएसन, रानाथारू होमस्टे, कञ्चनपुर पन्छी संरक्षण समूह र नेपाल पन्छीविद् सङ्घको संयुक्त सहभागितामा जलपक्षी गणना गरिएको हो।
चराविज्ञ हिरुलाल डगौंराले विगतका वर्षको तुलनामा निकुञ्जभित्रको सिकारी ताल तथा निकुञ्ज बाहिरका पुरैनी ताल, नकैया सिमसारलगायत क्षेत्रमा जलपक्षीको संख्यामा सुधार आएको देखिएको बताए। पुरैनीताल, बन्दाताल र रानीताल मिचाहा प्रजातिका वनस्पतिका कारण क्रमशः पुरिँदै जान थालेकाले संरक्षण अत्यावश्यक रहेको उनले उल्लेख गरे।
चराविज्ञ डगौंराका अनुसार यस वर्ष महाकाली नदीमा पानीको बहाव कम देखिएको छ भने निकुञ्जभित्रको रानी तालमा नकर्ट, जलकुम्भी जस्ता वनस्पति फैलिँदा तालको सौन्दर्य घट्दै गएको छ। यद्यपि, सिकारी तालमा जलपक्षीको उपस्थिति अघिल्ला वर्षको तुलनामा निकै राम्रो देखिएकाले उत्साहजनक रहेको उनको भनाइ छ।
'चराको संख्या बढे पनि बासस्थान भने संकटमा पर्दै गएको छ,' उनले भने, 'सिमसार क्षेत्रमा बढ्दो अतिक्रमण, अवैज्ञानिक माछापालन, नदीजन्य पदार्थको दोहन र जलवायु परिवर्तनका कारण जलपक्षीको बासस्थानमा चुनौती थपिएको छ।'
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विनयकुमार झाले तालहरूको निरन्तर संरक्षणका कारण जलपक्षीको संख्यामा सुधार देखिनु सकारात्मक सङ्केत भएको बताए। उनले सिमसार र चराचुरुङ्गीलाई केवल संरक्षणमा मात्र सीमित नराखी पर्या-पर्यटनसँग जोड्नुपर्नेमा जोड दिए।
'तालहरूको प्राकृतिक स्वरूप नबिग्रने गरी वैज्ञानिक व्यवस्थापन गर्दै चरा र सिमसारलाई पर्यटनको माध्यम बनाउनु आवश्यक छ,' संरक्षण अधिकृत झाले भने, 'चरा अवलोकनका लागि पर्यटक आउने ठूलो सम्भावना रहेकाले यसको व्यापक प्रचार-प्रसारसँगै संरक्षणमा सबै पक्षको सहकार्य अपरिहार्य छ।'
संरक्षण अधिकृत झाले चरा र सिमसारको संरक्षणबाट एकातिर जैविक विविधता जोगिने र अर्कोतिर पर्यटनमार्फत राजस्वमा वृद्धि हुने बताए। यस कार्यका लागि निकुञ्जका साथै सबै सरोकारवाला निकाय र सहयोगी संस्थाहरूको सक्रिय सहभागिता तथा निरन्तर सहयोगको अपेक्षा गरिएको उनको भनाइ छ। रासस