काठमाडौं- नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई खरिदका लागि आवेदन दिने आज माघ ९ गते अन्तिम दिन रहेको छ।
नेपाल लाइफ क्यापिटलले माघ ४ गतेदेखि नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई निष्कासन तथा बिक्री खुला गरेको थियो।
इकाई खरिदका लागि माघ १८ गतेसम्म आवेदन दिने अवधि थप गरिएपनि मागभन्दा बढी आवेदन परेकाले सूचना प्रकाशित गरी निष्कासन तथा बिक्री बन्द गर्न लागेको हो।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब ६० करोड रुपैयाँ बराबरको १६ करोड इकाई बिक्रीमा ल्याएको हो। नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो।
निष्कासन गरिएको कुल १६ करोड इकाईको न्यूनतम १५ प्रतिशत इकाई वा २ करोड ४० लाख इकाईमध्ये १४ प्रतिशत अर्थात् २ करोड २४ लाख इकाई कोष प्रवर्धक कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई र १ प्रतिशत अर्थात १६ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १३ करोड ६० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो। उक्त योजनामा न्यूनतम १०० देखि १ करोड ६० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।