काठमाडौं- चालु आर्थिक वर्षको पहिलो त्रैमासको आर्थिक वृद्धिदर ३ प्रतिशत भएको अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरिसकेको छ। साउनदेखि असोजसम्मको आर्थिक गतिविधिको तथ्यांकको आधारमा कार्यालयले यो अनुमान गरेको हो।
भदौं २३ र २४ गतेको युवा विद्रोहको क्रममा भएको क्षति र त्यही कारणले अर्थतन्त्र निकै शिथिल हुनसक्ने चौतर्फी अनुमानकै बीचमा कार्यालयले भने पहिलो त्रैमासको वृद्धिदर नियमित निरन्तरताकै आँकडामा हरने अनुमान गरेको हो।
आन्दोलन लगत्तकै विश्व बैंस, फिच रेटिङ लगायतका एजेन्सीले नेपालको आर्थिक वृद्धिदर उस्तै परे ऋणात्मकसम्म हुनसक्ने प्रक्षेपण गरेका छन्। विश्व बैंकको उक्त प्रक्षेपणपछि अर्थमन्त्री रामेश्वर खनालले सुरूदेखि नै त्यसको खण्डन गर्दै आएका छन्। बाह्य एजेन्सीले अनुमान गरेको जस्तो निराशाजनक वृद्धिदर नरहने उनको भनाइ रहँदै आएको छ।
तथ्यांक कार्यालयले सबै क्षेत्रको उत्पादन गत वर्षको सोही त्रैमासको तुलनामा बढ्ने अनुमान गरेको छ। ऊर्जा तथा ग्यास क्षेत्रको १४.९ प्रतिशत र वित्तीय मध्यस्थतताको ७ प्रतिशतले बढ्ने अनुमान कार्यालयले गरेको छ। घरजग्गा लगायतका क्षेत्रको वृद्धिदर पनि ५ प्रतिशत माथि हुने कार्यालयको अनुमान छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासको वृद्धिदर औसतकै दायरामा पर्छ। सामान्यतया पहिलो त्रैमासमा उच्च वृद्धिदर त्यति धेरै हुँदैन। गत वर्षको पहिलो त्रैमासमा २.९ प्रतिशतकै वृद्धिदर भएको थियो। त्योभन्दा अघिल्लो वर्ष पनि सोही आँकडामा भएको थियो। ऋणात्मक वा न्यून वृद्धिदर भएको त्रैमासको तुलनामा पछिल्लो वर्षको वृद्धिदर उच्च देखिने(बेस इफेक्ट) बाहेक यही अनुपातमा हुँदै आएको छ।
दोस्रो त्रैमासमा केही शिथिल भएपनि तेस्रो त्रैमासमा र चौथोमा भने उच्च वृद्धिदर कायम हुने अर्थका अधिकारीहरूको बुझाइ छ। तेस्रो त्रैमासमा चुनाव भएको र त्यसपछि वर्षको अन्तिम त्रैमासमा एकमुष्ठ भुक्तानीको दायित्व धेरै रहने हुँदा त्यसले उपभोगको वृद्धिदरको निरन्तरता हुनेछ। त्यस्तै पछिल्लो समय आयातमा निरन्तर भइरहेको वृद्धिले उपभोग बढाउने र त्यसले व्यापार क्षेत्रको ग्रोथलालई साथ दिनेछ।