वीरगञ्ज- वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ४८ अर्ब १० करोड रुपैयाँको वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ।
गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यो नाका हुँदै ५२ प्रतिशत अर्थात् १६ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी रकमको वस्तु तथा सामान निर्यात भएको छ।
गत आर्थिक वर्षको ६ महिनाको अवधिमा भने ३१ अर्ब ६७ करोड रुपैयाँबराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षमा यहाँबाट हुने निर्यात ५२ प्रतिशतले बढेको बताए।
चालु आर्थिक वर्षको ६ महिनामा २५ अर्ब ४२ करोड रुपैयाँको भटमासको प्रशोधित तेल निर्यात भएको छ। ३ अर्ब ४८ करोड रुपैयाँको फलफूलको जुस र ३ अर्ब ५५ करोड रुपैयाँको सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ।
त्यस्तै २ अर्ब २५ करोड रुपैयाँको प्रशोधित पाम तेल निर्यात भएको छ। १ अर्ब ७८ करोड रुपैयाँको विभिन्न किसिमका कपडा निर्यात भएको छ। रासस