आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

विनोद चौधरीको विकास प्रतिबद्धता : 'सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिन्छौँ'

बुधबार, माघ ७ २०८२
विनोद चौधरीको विकास प्रतिबद्धता : 'सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिन्छौँ'

चौधरीले कसैलाई काखा कसैलाई पाखा नगरी सबैसँग हातेमालो गर्दै पश्चिम नवलपरासीको विकासमा अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।

काठमाडौं- प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा पश्चिम नवलपरासीमा नेपाली कांग्रेस एक ढिक्का भएर चुनावी अभियानमा होमिएको छ। विगतमा आन्तरिक विवाद र विभाजनका कारण चर्चामा रहने यो जिल्लामा यसपटक कांग्रेसभित्र उल्लेखनीय एकता देखिएको छ।

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी दोस्रो पटक प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन्। यसअघि पनि यही क्षेत्रबाट निर्वाचित सांसद रहेका चौधरी पार्टीको साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका हुन्।

लामो समयसम्म पार्टीभित्र विवाद सिर्जना गर्दै आएका तत्कालीन नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल टिकट नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै जिल्लामा कांग्रेसभित्रको असमझदारी अन्त्य भएको स्थानीय नेताहरूको भनाइ छ। खनालको बहिर्गमनपछि कांग्रेस संगठन एकताबद्ध भएको र चुनावी गतिविधि थप सशक्त बनेको देखिएको छ।

पश्चिम नवलपरासीका प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले पार्टी एक ढिक्का भएर अघि बढ्नु जिल्लाका लागि सकारात्मक र सुखद सन्देश भएको बताए। उनले कांग्रेसको एकताले चुनावी परिणाम मात्र होइन, जिल्लाको समग्र विकास प्रक्रियालाई समेत गति दिने विश्वास व्यक्त गरे।

त्यसैगरी नेपाली कांग्रेस नवलपरासीका जिल्ला सचिव कुलदीप आचार्यले पार्टी एकताबद्ध भएको अवस्थामा कांग्रेस उम्मेदवारलाई पराजित गर्न कसैले नसक्ने दाबी गरे। उनका अनुसार वडा, जिल्ला र प्रदेश तहका सबै नेता–कार्यकर्ता एउटै उद्देश्यका साथ मैदानमा उत्रिएका छन्।

पार्टीका केन्द्रीय सदस्य, निवर्तमान सांसद, जिल्ला तथा वडा तहका नेता-कार्यकर्ता, बुद्धिजीवी र आम कांग्रेस कार्यकर्ताको साथ र सहयोगमा विनोद चौधरी चुनावी अभियानमा सक्रिय छन्। आज मात्रै चौधरीले जिल्लाका केन्द्रीय सदस्यहरू, पूर्वसांसद, पार्टी नेता तथा वडा तहका कार्यकर्तासँग भेटघाट तथा छलफल गरेका छन्।

छलफलपछि प्रतिक्रिया दिँदै चौधरीले पार्टी एकताबद्ध भएर चुनावमा होमिएको देख्दा आफू निकै उत्साहित र खुसी भएको बताए। 'अघिल्लो चुनावमा जिल्लाभित्रकै केही नेताको असहयोगका बाबजुद पनि नतिजा हाम्रो पक्षमा आयो। यसपटक त पार्टी पूर्ण रूपमा एकताबद्ध छ, सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुपर्छ,' उनले भने।

चौधरीले कसैलाई काखा कसैलाई पाखा नगरी सबैसँग हातेमालो गर्दै पश्चिम नवलपरासीको विकासमा अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे। कांग्रेसभित्र देखिएको यो एकताले जिल्लामा चुनावी माहोललाई थप सकारात्मक बनाएको स्थानीय राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।


प्रकाशित : बुधबार, माघ ७ २०८२१७:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend