सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

झापामा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव सुरु

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ ७ २०८२
झापामा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव सुरु

महोत्सवमा कम्तीमा १० करोड रुपैयाँबराबरको कारोबार र एक लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिता हुने अनुमान रहेको उनले बताए।

झापा- औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव-२०८२ आजदेखि जिल्ला सदरमुकाम चन्द्रगढीस्थित मेची रंगशालामा सुरु भएको छ। झापा उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि सुरु भएको महोत्सव यही माघ २१ गतेसम्म सञ्चालन हुनेछ।

संघका कार्यवाहक अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक राजकुमार राईले यहाँको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि महोत्सव आयोजना गरिएको जानकारी दिए। उनका अनुसार उद्योग, व्यापार, कृषि, पशुपछी, शिक्षा, स्वास्थ्य तथा पर्यटन क्षेत्रको प्रवर्द्धन गर्दै आन्तरिक बजार सवलीकरण, व्यावसायिक उत्थान र निकासीयोग्य वस्तुमा जोड दिन महोत्सव आयोजना गरिएको हो।

महोत्सवमा १ सय ३० वटा स्टल (कक्ष) निर्माण गरिएका संयोजक राईले जानकारी दिए। उनका अनुसार ती स्टलमा स्थानीय कृषि उत्पादन, हस्तकलाका सामग्री, विभिन्न कम्पनीका अटोमोबाइल, कृषि औजार, बीउबीजन, मलखाद, जडीबुटी, पर्यटन तथा शैक्षिक संस्था, छाला तथा गार्मेन्ट सामग्री, जुत्ता-चप्पल, गलैँचा तथा पस्मिना, सौर्य ऊर्जा, जलविद्युत्, सूचना प्रविधि, घरजग्गा तथा निर्माण सामग्री, बैंक तथा वित्तीय संस्था, फर्निचर तथा दैनिक उपभोग्य वस्तुको प्रदर्शनी तथा कारोबार हुनेछ।

महोत्सवलाई थप आकर्षक बनाउन ‘सेल्फीजोन’, मनोरञ्जनात्मक खेल तमासा, स्थानीय तथा राष्ट्रियस्तरका सांगीतिक र हास्यव्यंग्य कार्यक्रम, स्थानीय गीत तथा नृत्य, सांस्कृतिक प्रस्तुति, बालउद्यान तथा विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनको व्यवस्था गरिएको संयोजक राईले बताए। महोत्सव अवधिमा विभिन्न खेलकुद कार्यक्रमसमेत आयोजना गरिने छ।

महोत्सवमा कम्तीमा १० करोड रुपैयाँबराबरको कारोबार र एक लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिता हुने अनुमान रहेको उनले बताए। महोत्सव सफल बनाउन विभिन्न ९ वटा उपसमिति गठन गरी व्यवस्थापन, सुरक्षा, प्रचारप्रसार तथा अनुगमनको काम भइरहेको संघले जनाएको छ। रासस


प्रकाशित : बुधबार, माघ ७ २०८२१५:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend