काठमाडाैं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय सार्वजनिक गरेको छ।
विवरण अनुसार बैंकको मुख्य वित्तीय सूचकहरूमा गिरावट आएको छ।
बैंकले यस आर्थिक वर्षको पहिलो ६ महिनामा ४० करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिको ६४ करोड १९ लाख रुपैयाँको तुलनामा ३६.१५ प्रतिशतले कम हो।
खुद ब्याज आम्दानी २९.०९ प्रतिशत र सञ्चालन मुनाफा ३६.०४ प्रतिशतले घट्दा खुद नाफामा प्रत्यक्ष असर परेको देखिन्छ। यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी पनि २८.६२ प्रतिशतले घटेको छ भने वितरणयोग्य मुनाफा ३३.३७ प्रतिशतले गिरावट आई ३४ करोड ७८ लाख रुपैयाँमा सीमित भएको छ।
प्रतिसेयर सूचक र वित्तीय स्थिति नाफामा आएको संकुचनसँगै बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ १५ पैसाले घटेर ३ रुपैयाँ ८० पैसा कायम भएको छ। बैंकको मूल्य आम्दानी अनुपात ६८.४६ गुणा रहँदा प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ७५ पैसा रहेको छ। २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी भएको यस बैंकको जगेडा कोषमा ३ अर्ब १८ करोड ५७ लाख रुपैयाँ सञ्चित छ।
पछिल्लो विवरण अनुसार बैंकले ८ अर्ब ११ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ४१ करोड १६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।