सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

चुनावका लागि भारतबाट पहिलो चरणको सहयोग नेपाललाई हस्तान्तरण, ६ सय ५० सवारीसाधन दिइने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ ६ २०८२
चुनावका लागि भारतबाट पहिलो चरणको सहयोग नेपाललाई हस्तान्तरण, ६ सय ५० सवारीसाधन दिइने

कार्यक्रममा गृहमन्त्री आर्यालले सवारी साधन तथा सामग्री उपहारस्वरूप उपलब्ध गराएकोमा भारत सरकार र भारतीय जनताप्रति आभार व्यक्त गरे।

काठमाडौं- भारत सरकारले नेपालको आगामी निर्वाचन तयारीका लागि उपलब्ध गराएको निर्वाचनसम्बन्धी सहयोगको पहिलो चरण मंगलबार गृह मन्त्रालयमा आयोजित एक समारोहबीच हस्तान्तरण भएको छ।

माघ ६ गते गृह मन्त्रालय, काठमाडौंमा आयोजित कार्यक्रममा भारतको दूतावास, काठमाडौंका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले गृहमन्त्री ओमप्रकाश अर्याललाई सहयोगस्वरूप ६० भन्दा बढी डबल-क्याब पिकअप सवारीसाधन तथा अन्य सामग्री हस्तान्तरण गरे। ती सवारीसाधन तथा सामग्री नेपाल सरकारले आगामी निर्वाचनको तयारीका लागि माग गरेका सहयोगअन्तर्गतका हुन्।

कार्यक्रममा गृहमन्त्री आर्यालले सवारी साधन तथा सामग्री उपहारस्वरूप उपलब्ध गराएकोमा भारत सरकार र भारतीय जनताप्रति आभार व्यक्त गरे। उनले नेपाल-भारतबीच रहेको गहिरो, व्यापक र बहुआयामिक सम्बन्धको पनि प्रशंसा गरे। नेपाल सरकारको अनुरोधअनुसार भारत सरकारले सन् २००८ देखि नेपाललाई निर्वाचनसम्बन्धी सहयोग प्रदान गर्दै आएको छ। 

आगामी निर्वाचनका लागि भारतले करिब ६ सय ५० सवारीसाधन सहयोगस्वरूप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। ती सवारी साधनहरू आगामी केही हप्ताभित्र चरणबद्ध रूपमा नेपाललाई हस्तान्तरण गरिने जनाइएको छ।

निर्वाचन आयोगसहित नेपालका विभिन्न मन्त्रालय र निकायका लागि भारत सरकारले अहिलेसम्म करिब २ हजार ४ सय सवारीसाधन उपलब्ध गराइसकेको जनाइएको छ। 

भारतबाट निरन्तर रूपमा प्राप्त भइरहेको यस्तो सहयोगले नेपाल-भारतबीच रहेको बहुपक्षीय र बहुक्षेत्रीय विकास साझेदारीलाई अझ सुदृढ बनाएको छ।

साथै यसले दुवै देशका जनताबीचको गहिरो आपसी विश्वास र मित्रताको प्रतीकका रूपमा पनि काम गरेको कुटनीतिक वृत्तले जनाएको छ।


प्रकाशित : मंगलबार, माघ ६ २०८२१७:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend