सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

उद्योगी विनोद चौधरीले नवलपरासी-१ बाट प्रतिनिधिसभा सदस्यमा गराए उम्मेदवारी दर्ता

मंगलबार, माघ ६ २०८२
उद्योगी विनोद चौधरीले नवलपरासी-१ बाट प्रतिनिधिसभा सदस्यमा गराए उम्मेदवारी दर्ता

उम्मेदवारी दर्ताका क्रममा चौधरीले मतदाता, पार्टी कार्यकर्ता र समर्थकहरूप्रति आभार व्यक्त गरे। 'यहाँहरूको शुभेच्छा, साथ र सहयोगका लागि सधैं आभारी रहनेछु।'

नवलपरासी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरीले नवलपरासी (पश्चिम) क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै चौधरीले आफू राजनीतिक परिवर्तन र आर्थिक रूपान्तरणको स्पष्ट पक्षमा रहेको बताए। 'म राजनीतिक परिवर्तनको पक्षमा छु, आर्थिक रूपान्तरणको पक्षमा छु,' उनले भने, 'जेनजी मुभमेन्टले दिएको सन्देशको मर्मलाई मैले राम्रोसँग बुझेको छु।' नयाँ पुस्ताको अपेक्षा, रोजगारी, उद्यमशीलता र समावेशी विकासलाई आफ्नो प्राथमिकतामा राखेर अघि बढ्ने उनले बताए।

चौधरीले विगत तीन वर्षमा नवलपरासी (पश्चिम) को समग्र विकासका लागि सुरु गरिएका पहलहरू उल्लेख गर्दै ती अभियानलाई निरन्तरता दिन उम्मेदवारी दिएको स्पष्ट पारे। 'यहाँबाट निर्वाचित भएको तीन वर्षमा समृद्ध नवलपरासीका लागि फाउण्डेसन तयार भएको छ,' उनले भने, 'हामी सबैले प्रत्यक्ष देख्न सक्ने गरी नवलपरासी पश्चिमको विकास अभियान अगाडि बढेको छ।' सुरु भइसकेका विकासका कार्यक्रमलाई पूर्णता दिन पुनः जनताको विश्वास आवश्यक रहेको उनको भनाइ थियो।

पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर विकास अभियान अघि बढाइएको दाबी गर्दै चौधरीले निजी क्षेत्रको लगानी, सार्वजनिक-निजी साझेदारी र स्थानीय स्रोतको अधिकतम उपयोगमार्फत क्षेत्रको आर्थिक गतिविधि विस्तार गरिने बताए। उनले नवलपरासीलाई उत्पादन, उद्योग र व्यापारको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसमेत दोहोर्‍याए।

उम्मेदवारी दर्ताका क्रममा चौधरीले मतदाता, पार्टी कार्यकर्ता र समर्थकहरूप्रति आभार व्यक्त गरे। 'यहाँहरूको शुभेच्छा, साथ र सहयोगका लागि सधैं आभारी रहनेछु,' उनले भने।

यसअघि चौधरी २०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। पुनः उम्मेदवारीसँगै उनले आफ्नो अधुरो कार्यसूचीलाई निरन्तरता दिने र नवलपरासी (पश्चिम) को दीर्घकालीन समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


प्रकाशित : मंगलबार, माघ ६ २०८२१६:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend