काठमाडौं- निर्वाचनको माहोल बढ्दै जाँदा त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको छ। साताको पहिलो दिनको काराेबारमा आइतबार ३१.१२ अंकले बढेर २६७२.५५ बिन्दुमा पुगेको नेप्से आज मंगलबार पनि उचाइतर्फ नै लागेको छ।
सोमबार बन्द रहेको बजार आज मंगलबार ४२.२६ अंकले बढेर २७१४.८१ बिन्दुमा पुगेको छ। २२४ कम्पनीको सेयर मूल्य बढेको बजारमा ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ। बजारमा ३१ कम्पनीको सेयर मूल्य घटेको छ।
अपेक्षाअनुरुप सुधार देखिन नसकेको सेयर बजार चुनावअघि उचाइतर्फ लाग्न थालेको छ। आगामी फागुन २१ मा चुनाव भएसँगै राजनीतिक स्थिरता हुने अपेक्षामा लगानीकर्ता रहेका छन्। संगठित लगानीकर्ताहरू पनि बजारले चुनावपछि नयाँ उचाइ भेट्ने बताइरहेका छन्।
सेयर बजार सुधारतर्फ बढ्ने अपेक्षा भइरहँदा अहिलेको वृद्धिले केही आश जगाएको र उतारचढावपूर्ण बजार चुनावपछि उचाइतर्फ बढ्ने अनुमान विश्लेषकहरूले गरेका छन्। अहिलेको वृद्धि निरन्तर रहने र साताभर नै बजारमा हरियाली नै देखिने विश्लेषकहरू बताउँछन्। चुनावपछि बन्ने सरकारमा नयाँ नेतृत्व आउने आँकलनले पनि बजार सकारात्मक हुँदै जाने जनाइएको छ।
अहिले चुनावी सरकारले पनि निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहँदा लगानीकर्ता केही विश्वस्त देखिन्छन्। गएको साउनमा देखिएको उछालपछि बजार धरमर गरिरहँदा बढ्दो ट्रेन्ड छायामा देखिएको थियो।
२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।