सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ ६ २०८२
नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

सिघ्रौलीबाट अमलटारी, सिघ्रौलीबाट पिठौली, पिठौलीबाट अमलटारी र अमलटारीबाट त्रिवेणी गण्डक ब्यारेजसम्म गरी पाँच समूहमा चरा गणना गरिएको हो।

नवलपरासी- यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन्। चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएको जानकारी दिए।

'गत वर्षको पक्षी गणनामा ४१ प्रजातिका पक्षी भेटिएका थिए, यसपालिको गणनामा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका पक्षी भेटिएका छन्', उनले भने, 'गत वर्षकोभन्दा यस वर्ष चराको संख्या र प्रजाति वृद्धि भएको छ।'

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरको नारायणी नदी र आसपासको सिमसार क्षेत्रमा गत वर्षभन्दा बढी चरा फेला परेका छन्। नारायणी नदी र आसपासका क्षेत्रमा विज्ञ समूहले गरेको चरा गणनाको एकीकृत तथ्यांकअनुसार यस वर्ष नारायणी क्षेत्रमा ४२ प्रजातिका १२ हजार ८८७ चरा भेटिएको संयोजक चौधरीले जानकारी दिए।

'सन् २०२४ मा ४१ प्रजातिका नौ हजार ५४८ र सन् २०२४ मा ४१ प्रजातिका १० हजार २५७ चरा गणना गरिएको थियो', उनले भने, 'यस वर्ष विगत केही वर्षको तुलनामा थप एक प्रजातिको चरा भेटिएको छ भने संख्या धेरै देखिएको छ।'

नेपालमा ९०३ प्रजातिका पक्षी सुचीकृत भएका छन्। तीमध्ये जल क्षेत्रमा १६२ प्रजातिका चरा पाइन्छन्। तीमध्ये नारायणी नदी क्षेत्रमा यस वर्ष उक्त प्रजाति फेला परेका संयोजक चौधरीले बताए।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)तर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा पाँच समूह बनाएर चरा गणना गरिएको थियो।

सिघ्रौलीबाट अमलटारी, सिघ्रौलीबाट पिठौली, पिठौलीबाट अमलटारी र अमलटारीबाट त्रिवेणी गण्डक ब्यारेजसम्म गरी पाँच समूहमा चरा गणना गरिएको हो।

गत वर्षको तुलनामा यस वर्ष चराको समग्र संख्या तीन हजार ३३९ ले बढेको प्रारम्भिक अनुमान गरिएको संयोजक चौधरीले जानकारी दिए। उनका अनुसार साइबेरियालगायत उत्तरी गोलार्द्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये यस वर्ष सबैभन्दा बढी संख्यामा खोया हाँस देखिएका छन्। रासस


प्रकाशित : मंगलबार, माघ ६ २०८२११:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend