काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको १ करोड २ लाख ३० हजार थान मतपत्र छपाइ गरेको छ।
केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १३ हजार मतपत्र छपाइ भएको हो। निर्वाचन आयोगले उपलब्ध गराएको समानुपातिकतर्फको कुल २ करोड ८ लाख ३० हजार थान मतपत्र छपाइ गर्नुपर्नेछ। केन्द्रले हालसम्म ५० प्रतिशत मतपत्रको छपाइ गरिसकेको छ।
यस्तै केन्द्रले आयोगलाई कुल १० लाख ९८ हजार २ सय थान मतपत्र उपलब्ध गराइसकेको छ। केन्द्रले पछिल्लो २४ घण्टामा एक हजार ४ सय ३१ बाकस मतपत्रको प्याकिङसमेत सम्पन्न गरेको छ। कुल ७ हजार ८ सय ४१ बाकस मतपत्र प्याकिङ भइसकेको र १२ हजार ९ सय ८९ बाकस भने बाँकी छ।
प्रत्यक्षतर्फको मतपत्र भने उम्मेदवारको मनोनय, दाबी विरोधको प्रक्रिया सम्पन्न भई अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिसकेपछि सुरु हुने जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ। रासस