शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कामना सेवा विकास बैंकको नाफा २२ प्रतिशतले वृद्धि

मंगलबार, माघ ६ २०८२
कामना सेवा विकास बैंकको नाफा २२ प्रतिशतले वृद्धि

काठमाडौं- आइतबार समग्र सेयर बजार ३२ अंकले उकालो लाग्दा कामना सेवा विकास बैंक लिमिटेडको सेयर मूल्य ४.१९ प्रतिशतले वृद्धि भएको छ। बैंकको वित्तीय अवस्थामाथि लगानीकर्ताहरूले सकारात्मक संकेत देखिसकेको यो वृद्धिले पुष्टि गरेको देखिन्छ।

बैंकले सोमबार चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा उल्लेख्य सुधार भएको जनाएको छ। बैंकको खुद नाफा २२.३४ प्रतिशतले बढेर ३९ करोड ४५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकको नाफा ३२ करोड २४ लाख रुपैयाँ थियो।

बैंकको खुद ब्याज आम्दानी ११ प्रतिशतले वृद्धि भई एक अर्ब २१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सो आम्दानी एक अर्ब आठ करोड रुपैयाँ रहेको थियो। कर्जा प्रावधानमा समेत बैंकले केही सहजता पाएको देखिन्छ। अघिल्लो अवधिमा १९ करोड ६४ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेको बैंकले यसपटक १८ करोड ७१ लाख रुपैयाँ मात्र व्यवस्था गरेको छ, जसले नाफा बढ्न थप टेवा पुगेको छ।

नेपाल राष्ट्र बैंकले हालै निष्क्रिय कर्जासम्बन्धी वर्गीकरण नियममा लचकता अपनाउँदै सबै साँवा-ब्याज भुक्तानी भई किस्ता नियमित भएको तीन महिनापछि असल वर्गमा स्तरोन्नति गर्न सकिने व्यवस्था गरेको थियो। यसअघि किस्ता नियमित भए पनि छ महिनासम्म सूक्ष्म निगरानी वर्गमा राख्नुपर्ने व्यवस्था थियो। सूक्ष्म निगरानीमा रहेका कर्जामा न्यूनतम पाँच प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्छ भने असल कर्जामा एक प्रतिशत मात्र पर्याप्त हुन्छ।

यस नीतिगत सहजताको प्रभाव कामना विकास बैंकको निष्क्रिय कर्जामा पनि देखिएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमास (असोज मसान्त) मा ४.४१ प्रतिशत रहेको निष्क्रिय कर्जा पुस मसान्तसम्म घटेर ४.१० प्रतिशतमा झरेको छ। निष्क्रिय कर्जामा २५ प्रतिशतदेखि शतप्रतिशतसम्म कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने भएकाले यसमा आएको सुधार बैंकका लागि सकारात्मक मानिएको छ।

बैंक तथा वित्तीय संस्थाको सेयर बजारमा करिब ६० प्रतिशत हिस्सा रहेको सन्दर्भमा कामनाजस्ता संस्थाहरूको सकारात्मक वित्तीय विवरणले समग्र बजारलाई समेत ऊर्जा दिने देखिन्छ। आगामी दिनमा अन्य बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय विवरणमा पनि सुधार देखिँदै गएमा बजारको हालको उकालो यात्रालाई थप बल पुग्ने विश्लेषण गरिएको छ।

कामना विकास बैंकको हालसम्मको नाफा प्रवृत्तिका आधारमा वार्षिक रूपमा १५.१३ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता देखिएको छ। चालु अवस्थामै ७.६५ प्रतिशत लाभांश दिन सक्ने देखिएकाले यसलाई वार्षिकीकरण गर्दा करिब १५ प्रतिशत लाभांश सम्भावना देखिन्छ।

बैंकले अघिल्लो आर्थिक वर्ष २०८१/८२ को नाफाबाट १५.७८ प्रतिशत लाभांश वितरण गरेको थियो भने पछिल्लो पाँच वर्षको औसत लाभांश दर ११.३० प्रतिशत रहेको छ।

 


प्रकाशित : मंगलबार, माघ ६ २०८२१०:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend