शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

गण्डकी प्रदेशका २६ वटा सहकारीको दर्ता खारेज

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ ५ २०८२
गण्डकी प्रदेशका २६ वटा सहकारीको दर्ता खारेज

स्याङ्जा- सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ वटा सहकारीको दर्ता खारेज गरेको छ। कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा १३ वटा र चालु आर्थिक वर्षको गत पुससम्म १३ वटा गरी कुल २६ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको हो।

दर्ता भएर सञ्चालनमा नरहेका अथवा दुई वर्षभन्दा बढी निष्क्रिय रहेका, लेखा परीक्षण नगरेका, साधारणसभा नगरेका, आर्थिक कारोबार नभएका र अब सञ्चालन हुन सक्ने स्थिति नभएका सहकारीको दर्ता खारेज गरिएको सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार भेषराज रिजालले बताए।

कार्यालयले स्याङ्जा, गोरखा, तनहुँ, कास्की, म्याग्दी, लमजुङ, बागलुङ र पर्वतका निष्क्रिय सहकारीको दर्ता खारेज गरेको हो। दर्ता खारेज हुनेमा सबैभन्दा धेरै सहकारी स्याङ्जा जिल्लाका छन्। स्याङ्जामा ८ वटा सहकारीको दर्ता खारेज भएको छ।

स्याङ्जाका आठवटै सहकारी चालु आर्थिक वर्षमा दर्ता खारेज भएका उनले जानकारी दिए। सहकारी रजिष्ट्रार रिजालका अनुसार गोरखामा ६, तनहुँमा ४, कास्कीमा ३, म्याग्दीमा २, लमजुङ, बागलुङ र पर्वतमा समान १-१ वटा सहकारीको दर्ता खारेज भएको हो। दर्ता खारेज हुने सहकारीमा बहुउद्देश्यीय, बचत तथा ऋण, कृषि, उपभोक्ता, सूचना तथा सञ्चार, विद्युत्, मौरीपालन, अदुवा उत्पादनका क्षेत्रमा काम गर्ने उद्देश्यसहित स्थापना गरिएका सहकारी छन्।

'सहकारीको दर्ता खारेजका लागि ७ वटाको प्रक्रिया पूरा भएको छ' उनले भने, 'बाँकी १० वटा सहकारी दर्ता खारेजीको थप प्रक्रियामा रहेका छन्, दर्ता खारेज हुने क्रम अझै बढ्छ।' सहकारी रजिष्ट्रार कार्यालय पोखरामा हाल ८ सय ९० वटा सहकारी छन्।

यसमध्ये ५ सय ८८ वटा सहकारी अद्यावधिक भएर सञ्चालनमा छन्। ३ सय २ वटा सहकारी निष्क्रिय छन्। सहकारीसँग जोडिएका विभिन्न विषयगत संघ तथा सहकारी संस्था निष्क्रिय रहेका हुन्। ती निष्क्रिय रहेका संघ तथा सहकारीमध्ये जिल्लामा मात्रै संघ तथा संस्था गरी ५० निष्क्रिय छन्। रासस


प्रकाशित : सोमबार, माघ ५ २०८२१०:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend