काठमाडौं- नेपालले युवा बेरोजगारीतर्फ गहिरो र गम्भीर संकटको सामना गरिरहेको नेपाल उद्योग परिसंघ (सीएनआई) का वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरीले बताएका छन्।
औपचारिक रूपमा घोषणा नभए पनि यो समस्या गहिरो संकटका रूपमा फैलिँदै गएको चौधरीले बताएका छन्। १५ देखि २९ वर्ष उमेर समूहका करिब १० मध्ये ४ युवा अर्थपूर्ण रोजगारीबाट बञ्चित रहेको अवस्थाले देशको आर्थिक र सामाजिक भविष्यप्रति गम्भीर प्रश्न उठाएको उनले बताए।
आगामी चुनावको घोषणापत्रका लागि राजनीतिक दलहरूलाई सुझाव दिनेबारे नेपाल उद्योग परिसंघले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले युवा बेरोजगारी केवल सामाजिक समस्या नभइ राष्ट्रिय विकासको मार्गमै चुनौती बनेको बताए। 'यो समस्या न त नाराले समाधान हुन्छ, न त अस्थायी लोकप्रिय घोषणाले,' उनले भने, 'यसको समाधान दीर्घकालीन आर्थिक सुधार र स्पष्ट प्राथमिकतामा आधारित हुनुपर्छ।'
उनका अनुसार पछिल्ला वर्षहरूमा राज्यको ध्यान खर्च विस्तारमा केन्द्रित भए पनि राजस्व उत्पादन, निजी लगानी प्रवर्द्धन र उत्पादनशील अर्थतन्त्र निर्माणमा अपेक्षित प्रगति हुन सकेको छैन। 'अब समय आएको छ, खर्च गर्ने होइन, राजस्व सिर्जना गर्ने अर्थनीतितर्फ जाने,' चौधरीको भनाइ छ।
चौधरीले राजनीतिक सुधारको केन्द्रमै अर्थतन्त्रलाई राख्नुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार अस्थिर नीति, लगानीमैत्री वातावरणको अभाव र प्रतिस्पर्धात्मक क्षमतामा कमजोरीकै कारण स्वदेशमै रोजगारी सिर्जना हुन नसकेको हो। 'नेपाललाई प्रतिस्पर्धी, लगानीयोग्य र उत्पादनमुखी बनाउनु अहिलेको अनिवार्य कार्यसूची हो,' उनले भने।
उनले युवा रोजगारीलाई केवल संख्याको विषय नभइ मर्यादा र आत्मसम्मानसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने बताए।
'रोजगारी भनेको आम्दानीमात्र होइन, यो गरिमा हो,' उनले भने, 'आर्थिक वृद्धि भनेको केवल आँकडा होइन, यो राष्ट्रिय सार्वभौमिकताको आधार हो।'
सीएनआई वरिष्ठ उपाध्यक्ष चौधरीका अनुसार अबको बाटो स्पष्ट छ, ‘अर्थतन्त्र पहिलो’ को दृष्टिकोण।
निजी क्षेत्रको लगानी विस्तार, उत्पादन र निर्यात प्रवर्द्धन, सीपयुक्त जनशक्ति विकास र स्थिर नीतिगत ढाँचामार्फत मात्रै युवालाई स्वदेशमै अवसर दिन सकिने उनको निष्कर्ष छ।
युवा बेरोजगारीलाई राष्ट्रिय प्राथमिकतामा रूपान्तरण गर्न नसके यसको सामाजिक र आर्थिक असर अझ गहिरिँदै जाने चेतावनी पनि उनले दिएका छन्।